कात्तिक १३, काठमाण्डौ । पूर्व न्यायाधिश तथा मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले न्यायपालिकाले निर्वाचनको परिस्थिती र वातावरणलाई हेरेर काम गर्नुपर्ने बताएका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै रेग्मीले न्यायालयप्रति विश्वास गर्दै चुनाव प्रभावित नगर्नेगरी राज्यका निकायले काम कारबाही गर्नुपर्नेमा जोड दिए ।
सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी नभएको अवस्थामा तोकिएको मितिमा चुनाव हुँदैन भनेर शंका गर्नु आवश्यक नरहेको रेग्मीको स्पष्टोक्ति छ । “अन्तरिम आदेश जारी भएको छैन । त्यसकारणले अदालतले के गर्छ वा गर्दैन भन्नेपट्टी जानुभन्दा पनि सही ढंगबाट निर्वाचनका प्रक्रिया अगाडि बढाउनुपर्छ ।” रेग्मीले भने ।
मन्त्रीपरिषदको अध्यक्ष हुँदा आफूले न्यायपालिकाको मर्म मर्न नदिएको भन्दै रेग्मीले समयको माग अनुसार आफुले जिम्मेवारी निर्वाह गरेको स्पष्ट पारेका छन् ।
आफू मन्त्रीपरिषदको अध्यक्ष हुँदा न्यायपालिकाको विषयमा कुनै पनि विवाद नभएकाले तत्कालिन अवस्थामा आफुले सुझबुझपूर्ण रुपमा काम गरेको पुष्टी भएको रेग्मीको दाबी छ ।
राजनीतिक दलहरुले सरकार गठन गरेर चुनाव गर्ने स्थिती नबनेकाले आफुले सरकार संचालन गर्नुपरेको रेग्मीको भनाई छ ।
रामवरण यादवकै कारणले लोकमान कार्की अख्तियार प्रमुख बनाइएको रेग्मीले बताएका छन् । “राष्ट्रपतिले संविधान र कानुनअनुसार गरिने सम्पादनको विषयमा पनि अरुलाई दोष लगाउन मिल्छ ।”
लोकमानसिं कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्तका लागि राजनीतिक सहमति भएर आएकाले आफुले संवैधानिक परिषदको तर्फबाट सिफारिस गरेर पठाएको रेग्मीको भनाई छ ।
राजनीतिक सहमतिका आधारमा बाधा अड्काउ फुकाउ आदेश जारी गरेर तत्कालिन राष्ट्रपति यादवले नै कार्कीलाई सपथ खुवाएको रेग्मीले बताए ।
प्रधानन्यायाधिश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग अनावश्यक भएको रेग्मीको भनाई छ ।
रेग्मीसँगको कुराकानीको भिडियो :




प्रतिक्रिया