१३ कात्तिक, काठमाडौं । एमाले र माओवादी केन्द्रले प्रदेश २ मा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट टुङ्ग्याएका छन् । दुई दलको कार्यदल स्तरमा भएको छलफललाई शीर्ष नेताहरुले टुंगो लगाएपछि भागबण्डा मिलेको हो ।
प्रदेश २ मा प्रतिनिधिसभाका ३२ र प्रदेशसभाको ६४ सिट छन् । त्यसमध्ये वाम गठबन्धनमा आवद्ध एमालेले प्रतिनिधिसभाका १३ र प्रदेशसभाका ३० सिट पाएको छ । माओवादी केन्द्रले भने प्रतिनिधिसभाको १५ सिट पाउँदा प्रदेशमा २८ सिट पाएको छ ।
प्रदेशसभाका २ सिटबारे छलफल चलिरहेको छ । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभाको दुई सिट कसले लिने भन्ने तय भइसकेको छैन ।
साथै पर्साको प्रतिनिधिसभाको सिट साट्नेबारे पनि एमाले र माओवादीबीच छलफल जारी छ । शीर्षतहमा भएको सहमतिअनुसार क्षेत्र नम्बर २ एमाले र ३ माओवादीको भागमा परेको छ ।
वाम गठबन्धनले सिट बाँटफाँटमा धनुषा क्षेत्र नम्बर ३ स्वतन्त्रलाई छाडेको छ । यहाँ नेपाली कांग्रेसबाट पूर्वगृहमन्त्री विमलेन्द्र निधि उम्मेदवार बन्दैछन् । यस्तै महोत्तरी–२, सप्तरी–४ र सर्लाहीको निर्वाचन क्षेत्र नम्बर २ मा पनि स्वतन्त्रलाई दिइएको छ ।




प्रतिक्रिया