कात्तिक १४, काठमाण्डौ । नेपाली कांग्रेस मकवानपुरले कमल थापालाई सहयोग नगर्ने घोषणा गरेको छ । जिल्लामा नेपाली कांग्रेस एक्लै पनि बलियो भएकाले राप्रपासँग तालमेल गर्ने निर्णय अनुचित भएको मकवानपुर कांग्रेसको ठहर छ ।
जिल्ल कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको नेतृत्वले कमल थापालाई मतदान नगर्ने निर्णय गरेको हो । यसअघि ५४ सालमा पनि कमल थापासँग मिल्दा कांग्रेस धरापमा परेको मकवानपुर कांग्रेसका नगर सभापति आनन्दराम पराजुलीले बताए ।
लोकतान्त्रिक गठबन्धन बनाउने भन्दै नेपाली कांग्रेसले राप्रपासँग तालमेल गरेको थियो । राप्रपा अध्यक्ष कमल थापालाई मकवानपुर १ मा कांग्रेसले सहयोग गर्ने निर्णय केन्द्रमा भए पनि जिल्ला कांग्रेसले भने त्यसलाई अस्विकार गरेको हो ।
कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु लामिछानेले केन्द्रबाट जस्तो निर्णय आए पनि पूर्वसांसद तथा जिल्ला सभापति इन्द्र बानियाँ नै उम्मेदवार बन्ने दाबी गरे ।
कांग्रेसले गत संविधानसभा चुनावमा ०१५ सालपछि पहिलो पटक मकवानपुरमा बानियाँमार्फत नै जितको खाता खोलेको थियो ।
अहिले राप्रपा अध्यक्ष कमल थापालाई सोही क्षेत्रमा कांग्रेसले सघाउनुपर्ने अवस्था आएपछि स्थानीय नेता कार्यकर्ता रुष्ट बनेका छन् ।
यसअघि झापा क्षेत्र नम्बर ३ मा पनि कांग्रेसले राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनलाई सहयोग गर्ने निर्णय गरेको थियो ।
तर कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पनि आफू त्यही क्षेत्रबाट प्रत्यक्षतर्फ चुनाव लड्ने अडान लिएपछि झापाको तालमेल पनि धरापमा परेको थियो । यद्यपी त्यहाँ दुवै दलले स्वस्थ प्रतिस्पर्धा गरेर अन्य ठाउँका तालमेल यथावत राख्ने सहमति भएको थियो । तर मकवानपुरमा पनि विवाद भएपछि कांग्रेस र राप्रपाबिचको तालमेल धरापमा परेको छ ।
सुरुमा कांग्रेस झापा ३ सहित प्रतिनिधिसभाका ७ सिटमा राप्रपालाई छाड्न सहमत भएको थियो । त्यसअनुसार सिटौलाको नाम समानुपातिकको सूचीमा राखिएको पनि थियो । तर, सिटौलाले आफैं चुनाव लड्ने अडान लिएपछि उनको नाम समानुपातिकबाट हटाइएको छ र झापा ३ को टिकट दिइएको छ ।
लगतै राप्रपाले पनि झापा ३ मा सिटौलाविरुद्ध लिङ्देनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।




प्रतिक्रिया