वाइसिएलले दियो चेतावनी, ढुङ्गेललाई रिहाई नगरे ७७ वटै जिल्लामा द्वन्द्वकालीन मुद्दाहरु ब्युताउँने


कात्तिक १४, काठमाण्डौ । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई तत्काल रिहाई गर्न माग गरेको छ ।

वाइसीएलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिइरहेकोबेला सरकारले नेता ढुंगेललाई पक्राउ गर्नुले आश्चार्यचकित बनाएको भन्दै ढुंगेलको मुद्दालाई ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ आयोगमार्फत हल गर्न र उनलाई तुरुन्त रिहाईको माग गरेको हो ।

‘द्वन्द्वकालका गम्भीर घटनामा ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’मार्फत हेरिने भन्ने बृत शान्ति सम्झौताको उल्लघंनमात्रै होइन देश निर्वाचनमा होमिइरहँदा निर्वाचन भाड्ने षड्यन्त्रस्वरुप गरिएको गिरफ्तारीप्रति हाम्रो संगठन आपत्ति व्यक्त गर्दछ’, अध्यक्ष रामप्रसाद सापकोटाले मंगलबार निकालेको विज्ञप्ति लेखिएको छ, ‘ढुंगेलको मुद्दालाई आयोगमार्फत हल गर्न र उनलाई तत्काल रिहाई गर्न समेत माग गर्दछौं ।’

वाइसीएलले पक्राउको घटनालाई निर्वाचन भाँड्ने षड्यन्त्र भन्दै चनाखो र सचेत हुन समेत युवाहरुमा अपिल गरेको छ ।

ढुंगेललाई तत्काल रिहाई नगरिए देशभरका ७७ वटै जिल्लामा द्वन्द्वकालीन मुद्दाहरु ब्युताएर घटनामा संलग्न नेपाली कांग्रेस र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने वाइसीएलको चेतावनी छ ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्चले दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका ढु‌ंगेललाई नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरो (सिआईबी)को टोलीले मंगलबार ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो ।