राजपा र फोरमको आग्रह, “ऋषि धमला मधेशबाट चुनाव लड्नुपर्छ ।” धमला भन्छन्, “मैले निर्णय गरेको छैन”


कात्तिक १५, काठमाण्डौ । राजपाका नेता रामनरेश रायले चुनावी तालमेल बारे संघीय समाजवादी फोरमसँग सहमति भएको बताएका छन् । नेपाली कांग्रेससँग भने केही कुरा मिल्न बाँकी रहेको रायको भनाई छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता रायले शीर्ष नेताहरुले चुनाव लड्ने क्षेत्रमा सहमति गरेर जाने विषयमा छलफल भइरहेको बताएका छन् ।

नेपाली कांग्रेसले शीर्ष नेताले चुनाव लड्ने क्षेत्रमा तालमेल गर्ने र अन्य ठाउँमा स्वस्थ प्रतिस्पर्धा गर्ने गरी गठबन्धन बनाउने प्रस्ताव गरेको रायले बताए ।
कतिपय ठाउँमा कुरा मिलिसकेको र बाँकी ठाउँमा आजै टुङ्गो लगाउने प्रयास भएको रायले बताएका छन् । जुन दल जहाँ बलियो छ, त्यहाँ त्यही दललाई सहयोग गर्ने गरी कुरा भइरहेको रायको भनाई छ ।

२ नम्बर प्रदेशमा राजपा एक्लै चुनाव लडे पनि प्रेशसभातर्फ १७ सिट र प्रतिनिधिसभातर्फको ५ को जित सुनिश्चित भएको रायको दाबी छ ।
नेता रायले ऋषि धमलालाई मधेशप्रेमी पत्रकार भएकोमा प्रशंसा गदै मधेशमा चुनाव लड्न आग्रह गरेका छन् ।

“ऋषि धमला मात्रै यस्तो पत्रकार हो, काठमाण्डौमा जो मधेशको पक्षमा कुरा गर्छन्, आवाज उठाउँछन् ।” रायले भने ।
धमलाले चुनाव जितेर सिंहदरबारबाट मधेशीको पक्षमा आवाज उठाउने हो भने पहाडे राष्ट्रवादको भ्रम टुट्ने रायको तर्क छ ।

अहिले पनि पहाडे राष्ट्रवादको भ्रम चिर्ने काम धमलाले गरेको रायको भनाई छ ।
धमलाले आफु चुनाव लड्ने विषयमा कुनै निर्णय नगरेको जानकारी गराएपछि रायले आफ्नो आग्रह मात्र नभै मधेशी जनता र राजपा अध्यक्ष महन्थ ठाकुर तथा फोरम अध्यक्ष उपेन्द्र यादवको अपेक्षा भएकाले छिटै निर्णय गरेर चुनावमा होमिन अनुरोध गरे ।

“सबैले स्वागत गर्न तयार छन्, ऋषि धमलाजस्तो व्यक्ति मधेशीबाट चुनाव लड्नुपर्छ ।” रायले भने । दलका नेताहरुले मधेशीको पक्षमा बोल्ने तर काम केही पनि नगरेको आरोप रायको छ ।