कांग्रेस–फोरम–राजपाबिचको गठबन्धन बनेन, एक्लाएक्लै चुनाव लड्ने


कात्तिक १५, काठमाण्डौ । नेपाली कांग्रेस–राजपा–फोरमबिच चुनावी तालमेल नहुने भएको छ । पछिल्लो समय तालमेलका विषयमा विवाद हुँदै आएकोमा आज टुङ्गो लगाउने भनि बसेको तीन दलको बैठकमा सहमति हुन सकेन ।

मधेशमा राजपा–फोरम र कांग्रेसले सिट बाँडफाँटमा सहमति खोज्न नसकेका हुन् । राजपा फोरमले कांग्रेसले इमानदारिता नदेखाएका कारण तालमेल हुन नसकेको आरोप लगाएका छन् भने कांग्रेसले हैसियतभन्दा बढि सिट दुई दलले मागेपछि तालमेल हुन नसकेको बताएको छ ।

आजको छलफलले निष्कर्ष निकाल्न नसकेपछि राजपाले आफ्ना शीर्ष नेताहरुको निर्वाचन क्षेत्र पनि सार्वजनिक गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर महोत्तरी ३ बाट चुनाव लड्ने भएका छन् भने धनुषा ३ बाट राजेन्द्र महतो उम्मेदवार बन्नेछन् ।

त्यसैगरी राजकिशोर यादव सिराहा ५, अनिल झा रौतहट ५, शरदसिं भण्डारी महोत्तरी २ र महेन्द्र राय यादव सर्लाही २ बाट चुनाव लड्ने तय भएको छ ।
राजपाले शीर्ष नेताहरुको निर्वाचन क्षेत्र टुङ्गो लगाएसँगै कांग्रेससँगको तालमेल नहुने निश्चित भएको छ ।