Logo

जापानको प्रधानमन्त्रीमा आबे पुनः निर्वाचित



टोकियो, १५ कात्तिक : जापानको प्रधानमन्त्रीमा यहाँको लिबरल डेमोक्रेटिक पार्टीका नेता सिन्जो आबे पुनः निर्वाचित हुनुभएको छ ।

वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्री समेत रहनुभएका उहाँ जापानको प्रधानमन्त्रीमा बुधबार पुनः निर्वाचित हुनुभएको प्राप्त समाचारमा जनाइएको छ ।

जापानको दुवै सदनले उहाँलाई प्रधानमन्त्रीमा बुधबार निर्वाचित गरेको हो । उहाँले घोषणा गर्नुभएको आम निर्वाचन हालै सम्पन्न भएको थियो ।

हालैमात्र सम्पन्न सो निर्वाचनमा उहाँको दल लिबरल डेमोक्रेटिक पार्टीले दुईतिहाई बहुमत हासिल गरेको थियो । गएको संसदीय निर्वाचनमा उहाँको दलले जापानी संसदको तल्लो सदनमा दुईतिहाई बहुमत हासिल गरेको थियो । उहाँलाई सोही संसदले बुधबार प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।

जापानको उक्त निर्वाचनमा उहाँको बिगतदेखिकै सत्तारुढ अर्काे दल कोमेइतो पार्टी पनि गठबन्धनमा सामेल भएको थियो । अबको नयाँ सरकारमा पनि सो दल सहभागी हुने भएको छ ।

आबेलाई बुधबारको संसद बैठकले प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । उहाँले आजै रातिसम्ममा उक्त कोमेइतो पार्टीका नेतासँग छलफल गरी नयाँ मन्त्रिमण्डलको घोषणा गर्नुहुने भएको बताइएको छ ।

बुधबार बसेको जापानी संसदको विशेष बैठकले उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गरे पनि औपचारिक रुपमा उहाँको नाम घोषणा हुन भने बाँकी छ । उहाँले बुधबारै साँझ घोषणा गर्ने मन्त्रिमण्डललाई जापानी राजदरबारमा शपथ गराउने कार्यक्रम छ । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्