काठमाडौं, १५ कार्तिक । चुनावी तालमेललाई लिएर केही खटपट आएको भन्दै कांग्रेस र राजपा नेपालका शीर्ष नेताहरुवीच निर्णायक वार्ता जारी छ । तर बैठकको सुरुवातमै नेताहरुवीच चर्काचर्की परेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले दुवै पार्टीका शीर्ष नेताहरुवीचको बैठक जारी छ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले धनुषा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने घोषणा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजपा नेपालका नेतालाई छलफलका लागि बोलाएको बालुवाटार स्रोतले पत्रकार ऋषि धमलालाई जानकारी दियो ।
तर बैठकमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि पनि सोही क्षेत्रबाट चुनाव लड्ने भएपछि लोकतान्त्रिक गठबन्धनमा अप्ठ्यारो परेको गुनासो प्रधानमन्त्री देउवाले राजपाका नेताहरुसामू राखेका थिए ।
बैठकमा सहभागी एक नेताका अनुसार सुरुवातमा प्रधानमन्त्रीले यति भनिसकेपछि नेता महतोले आफू कुनै पनि हालतमा उक्त क्षेत्रबाट ब्याक नहुने भन्दै जुरुक्क उठेर हिँडेका थिए । महतोले ठूलो स्वरमा चिच्याएको भन्दै निधिले पनि महतोलाई कड्किँदै चूनौति दिए । यो गलत भएको भन्दै निधिले गठबन्धनमा असर पर्नेतर्फ संकेत गरेका थिए ।
सोही क्षेत्रका कारण लोकतान्त्रिक गठबन्धन नबन्ने भएपछि राजपा नेपालसँग जसरी पनि चुनावी तालमेल गर्न पार्टीभित्रैबाट पनि ठूलो दवाव आएपछि आज साँझ बालुवाटारमा बैठक बसेको हो ।
यता सर्लाहीका नेता महतोले आफुले चुनावमा उम्मेदवारी दिनका लागि पार्टीबाट टिकट पनि पाइसकेकोले कुनै पनि हालतमा फिर्ता नहुने बरु विमलेन्द्र निधि फिर्ता होस् भनि जवाफ दिएको ती नेताले बताए ।




प्रतिक्रिया