झापा ३ मा सिटौला भर्सेज लिङदेन

0
Shares

काठमाडौं १६ कार्तिक । अन्तत: नेपाली कांग्रेसका नेता कृष्ण सिटौला र राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनबीच अलग–अलग गठबन्धनबाट रोचक भिडन्त हुने पक्का भएको छ ।

यसअघि नेपाली कांग्रेस र राप्रपावीच भएको चुनावी तालमेलले झापा ३ मा राप्रपा महामन्त्री लिङ्देनलाई प्रत्यक्ष उम्मेदवार वनाउने र सिटौलालाई समानुपातिकको टिकट दिने सहमति भएको थियो । तर, सिटौलाले समानुपातिकमा असन्तुष्टि पोख्दै जुनसुकै हालतमा प्रत्यक्षवाटै लड्ने अडानपछि राप्रपा र कांग्रेसवीचको चुनावी तालमेल टुटेको छ । लिङ्देनले वाम गठबन्धनको साथ पाएका छन् । सिटौला एक्लै लड्नेछन् ।

लिङदेनलाई वामगठबन्धनले सघाउने र राप्रपाले वाम गठबन्धनलाई सघाउने सहमति भएको छ । वाम गठवन्धनमा आवद्ध एमाले र माओवादीले वुधवार विर्तामोडमा संयुक्त पत्रकार सम्मेलनमार्फत लिङ्देनलाई सघाउने उद्घोष गरे । एमाले झापाका प्रचार प्रमुख माधव विद्रोहीले लिङदेनलाई झापा ३ मा सघाउने सहमति भएको प्रष्ट पारे ।

सिटौला–लिङ्देन भिडन्त तेस्रोपटक

सिटौला–लिङ्देनवीच पहिलो चुनावी भिडन्त ०५६ को आम निर्वाचनमा भएको थियो । तत्कालिन झापा १ बाट सिटौला–लिङ्देन लडे । तर, सिटौला विजयी भए ।

०६४ को पहिलो संविधानसभा चुनावमा लिङ्दने उम्मेदवार थिएनन् । त्यो वेला सिटौलाका प्रतिष्पर्धी थिए, माओवादी नेता पूर्णसिंह राजवंशी । राजवंशीले सिटौलालाई भारी मतले पराजित गरेका थिए । ०७० को दोस्रो संविधानसभामा लिङदेन पुन: उम्मेवार बने । उनका निकटतम प्रतिष्पर्धी थिए, सिटौला । सिटौलाले दोस्रो पटक जित्दा उनी दोस्रो वने ।

यी चिरपरिचित र पुराना नेतावीच पुन: तेस्रो पल्ट भिडन्त हुँदैछ । लिङ्दनेविरुद्ध सिटौलाले हेट्रिक गर्ने हुन् या लिङ्देनले पहिलो विजयी स्वाद चाख्ने हुन त्यो निर्णय भने मतदाताले गर्ने छन् ।

जानकारहरुका अनुसार झापा ३ सिटौलाको गृह जिल्ला भएपनि लिङ्देन ‘पपुलर’ मानिन्छन् । अघिल्लो नगरपालिका निर्वाचनको परिणाम हेर्दा पनि त्यो थाहा हुन्छ । हल्दीबारी र कचनकबल गाउँपालिकाको अध्ध्यक्ष, उपाध्यक्षसहित वहुमत सदस्य राप्रपाले जितेको थियो । कांग्रेसले वाह्रदसीमा मात्रै जितेको थियो । राप्रपाका जिल्ला स्तरीय एक नेताले भने,‘हामी त्यसै पनि कांग्रेस भन्दा वलियो छौं, वाम गठवन्धनको साथले जित निश्चित नै गराएको छ ।’

स्थानीय निर्वाचनमा प्रमुख पदहरुमा खसेको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा नेपाली कांग्रेसले २० हजार २२ मत प्राप्त गरेको थियो । जसमा राप्रपाले १३ हजार ७ सय ५० मत पाएको थियो ।

एमालेले १५ हजार ५ सय ६२ मत पाउँदा माओवादीले ८ हजार ९ सय ९१ मत पाएको थियो । एमाले र माओवादीको मत जोड्दा २४ हजार ५ सय ५३ पुग्छ । यदि यो मत लिङ्देनलाई जाने हो जीतका लागि सिटौला निकै कठीन मोडमा पुगेका छन् ।