जोशीको यो षडयन्त्रमा कांग्रेसको खोल ओडेर राजनीति गर्ने स्थानीय नेतादेखि कार्यकर्तासम्मले साथ दिइरहेका छन् ।
कात्तिक १७, काठमाण्डौ । भ्रष्ट छवी बनाएका गोविन्दराज जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् । आफुले चुनाव जित्नका लागि नभै सोही क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई हराउनका लागि जोशीले उम्मेदवारी दिएका हुन् । कुनै बेला कांग्रेसको सहमहामन्त्रीसमेत भइसकेका जोशी भ्रष्टाचारको मुद्दा परेपछि राजनीतिबाट ओझेलमा परेका थिए । तर उनीसँगै तनहुँ जिल्लाबाट राजनीति गर्दै आएका रामचन्द्र पौडेले औषत नेताहरुका तुलनामा स्वच्छ छवीको रुपमा चिनिदै गएपछि जोशीले पौडेलविरुद्ध षडयन्त्र गरेका हुन् ।
६४ सालको पहिलो संविधान सभा निर्वाचनमा पराजित भएका नेता जोशी पछिल्लो समय आफूलाई पौडेलले अगाडि बढ्न नदिएको आरोप लगाउँदै उनीविरुद्ध उत्रिएका हुन् । एउटा रेडियो अन्तरवार्तामा जोशीले आफूलाई पौडेलको अनुहारसमेत हेर्न मन नलागेको भन्दै अनावश्यक आरोपसमेत लगाएका थिए ।
कांग्रेसको पछिल्लो दुईवटा महाधिवेशनमा केन्द्रिय समेत जित्न नसकेर नराम्रोसँग पछारिएका जोशी तनुहँका केही भ्रष्ट प्रेमी कार्यकर्ताको साथ लिएर पौडेललाई हराउनका लागि बागी उम्मेदवारको रुपमा मैदानमा उत्रिएका हुन् । बाम गठबन्धनले कांग्रेसलाई हराउने प्रयास गरिरहेका बेला जोशीले पनि एमालेका उम्मेदवारलाई बल प्रदान गरेका छन् ।

यसअघि ७० सालको दोस्रो संंविधान सभाको चुनावमा कांग्रेसले तनहुँ क्षेत्र नम्बर १ बाट शंकर भण्डारीलाई टिकट दिएपछि जोशीले एमालेसँग मिलेर भण्डारीलाई हराउने प्रयास गरेका थिए । तर भण्डारीले चुनाव जिते ।
राजनीतिबाट आफु स्खलित हुँदै गएपछि कुनै पनि प्रयासले माथि उठ्न नसकेका जोशी अहिले पौडेललाई हराएर तनहूँबाट कांग्रेसको एक सिट एमालेलाई दिलाउन जोशी मरिहत्ते गरेर लागेका छन् ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला र चुनावमा पौडेल जिल्लाबाट नै लड्दै आएकाले पनि तनहुँ चर्चित छ । अर्कोतिर देशकै विभिन्न मुद्दामासमेत पौडेलको विचार र अडान लागु हुने गरेको छ । पाटीभित्र पनि पौडेलले राम्रै छाप बनाएर नेतृत्व लिने हैसियत बनाइसकेका छन् । राष्ट्रिय राजनीतिमा सक्रिय नेता पौडेल नेपाली कांग्रेसका कार्यवाहक पूर्व सभापति मात्रै होइनन्, संसदमा सभामुखको भूमिकासमेत निर्वाह गरिसकेका नेता हुन् । विभिन्न पटक मन्त्री भएका पौडेलले सरकार र पार्टी संचालनको क्षमता विस्तार गरेका छन् । पटक पटक सार्वजनिक पद धारण गरेका पौडेल साना तिना घटनाबाहेक विवादमा अहिलेसम्म आएका छैनन् ।
करिब एक दशक अघिसम्म जिल्लाको राजनीतिबाट केन्द्रसम्म नै चर्चा पाउने अर्का नेता थिए, गोविन्दराज जोशी । शिक्षा मन्त्री हुँदा लोकप्रिय काम गरेको भन्दै स्यावासी पाएका जोशी माओवादी द्धन्द्धकालमा गृहमन्त्री भएर होस् वा ५६ सालको आम निर्वाचनमा तनहूँ क्षेत्र नम्बर १ बाट विजयी हुँदा, जोशीका पछाडी लाग्ने जनताको कमी थिएन । जनप्रेमी नेताको छबी बनाएका जोशीले हजाराँै जिल्लाबासीलाई रोजगारी दिलाएको चर्चा अझै सेलाएको छैन । जोशीकै पालामा विकास निर्माणसँग सम्बन्धित सडक, खानेपानी, विजुली जस्ता क्षेत्रको विकासले राम्रैसँग गति लिएको थियो । जोशी विकासप्रेमी नेताका रुपमा स्थापित भइसकेका थिए ।
तर सार्वजनिक पदमा रहँदा अकूत सम्पत्ति कमाएको भनेर मुद्दा परेपछि उनको राजनीतिक जीवन धुमिल बन्न पुग्यो । विशेष अदालतले २०६९ साउन १० मा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वमन्त्री जोशीलाई भ्रष्टाचारी ठहर गरेको थियो । अदालतले उनीसँग बिगो र जरिवाना गरी ४ करोड ३२ लाखसहित डेढ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
तर विशेष अदालतले उनलाई सफाई दिदै पुनः सक्रिय राजनीतिमा लाग्ने बाटो खोलिदिएको थियो ।
२०४८ पछि पटकपटक मन्त्री रहँदा जोशीले अकूत सम्पत्ति आर्जन गरेको र सो सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेषमा मुद्दा परेको थियो । तर, २०६३ कात्तिक ३० मा विशेष अदालतका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी तथा सदस्यहरू कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलाशले जोशीलाई सफाइ दिएको थियो ।
जोशीको मुद्दालाई विशेषले भ्रष्टाचार निवारण ऐन, २०४८ बमोजिम पदबाट बाहिरिएको एक वर्ष्भित्रै मुद्दा दायर गर्नुपर्नेमा सो अवधि नघाएर दायर गरेको कारण देखाउँदै खारेज गरेको थियो । विशेषको सो निर्णयविरुद्ध अख्तियारले २०६३ मंसिरमा सर्वोच्चमा पुनरावेदन गरेको थियो । त्यही मुद्दा अहिलेसम्म किनारा लाग्न सकेको छैन ।
जोशीले अहिले तनहुँ क्षेत्र नम्बर एकका जनताले आफुलाई चाहेको दाबी गर्दै आएका छन् । तर जोशीले के भुल्नु हुँदैन भने, ६४ सालको पहिलो संविधान सभाको चुनावमा “गोविन्दराज जोशी भ्रष्टचारी हो” भन्दै जोशीकै बागी उम्मेदवारको चुनाव चिन्ह घैँटोमा भोट हालेर महान काम गरेको ठान्नेहरु अहिले जोशीको शरणमा पुगेका छन् ।

यसबाट के स्पष्ट हुन्छ भने तनहुँमा कांग्रेसलाई कमजोर बनाउने षडयन्त्रमा लागेका नेता कार्यकर्ता नै अहिले जोशीको पक्षमा छन् । उम्मेदवारी मिलाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवाले नै बोलाएर छलफल गर्दासमेत जोशीले मलार्य अब सम्पर्क नगर्नु भन्ने ठाडो जवाफ दिएर हिँडेका थिए । यसबाट पनि प्रष्ट हुन्छ कि जोशी जसरी पनि तनहुँमा कांग्रेसलाई कमजोर बनाउने खेलमा लागेका छन् ।
अर्कोतिर भ्रष्टाचारको मुद्धामा सर्वोच्चले फैसला गरेको खण्डमा जोशी जेल जाने सम्भावन प्रबल छ । त्यसैले आफू जेल जानुअघि पौडेलको राजनीतिक कमजोर बनाउन चाहन्छन् । जोशीको उम्मेदवारीले योभन्दा अरु कुनै पनि अर्थ राख्दैन । किनकी वाम गठबन्धनले एकल उम्मेदवारी बनाएका बेला कांग्रेसभित्र दुई उम्मेदवार बन्नु भनेको पराजित हुनु निश्चित जस्तै हो ।
जोशीको पौडेलविरोधी उम्मेदवारीमा कांग्रेसको खोल ओड्ने तर एमालेका उम्मेदवारलाई जिताउनेको भिडभाड देखिन्छ । जोशीको यो षडयन्त्रमा कांग्रेसको खोल ओडेर राजनीति गर्ने स्थानीय नेतादेखि कार्यकर्तासम्मले साथ दिइरहेका छन् ।




प्रतिक्रिया