काँग्रेस र एमालेमा बागी उम्मेदवार

0
Shares

भक्तपुर, १७ कार्तिक । भक्तपुरको प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस र वाम गठबन्धनका आधिकारिक उम्मेदवार बिरुद्ध बागी उम्मेदवार खडा भएका छन् ।

आसन्न दोस्रोचरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि हिजो बिहीबार उम्मेदवार मनोनयन दर्ता गर्ने क्रममा बागी उम्मेदवार दुबै दलका आधिकारिक उम्मेदवार विरुद्ध अर्का उम्मेदवार खडा भएका हुन्

भक्तपुरको निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ क चाँगुनारायणमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका डिपी देवीप्रसाद ढकालले उम्मेदवारी दर्ता गराउनुभयो ।

वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको भन्दै एमाले र माओवादी केन्द्र०का नेता एवं दलका झण्डा बोकेर ¥यालीसहित आएका थिए ।

त्यसको आधा घण्टा पछि एमालेको केन्द्रीय नेता एवं कार्यकर्ताको जुलुसको नेतृत्व गर्दै पार्टीको झण्डा लिएर आफू आधिकारिक उम्मेदवार भएको भन्दै एमाले जिल्ला सचिव हरिशरण लामिछानेले निर्वाचान कार्यालयमा आएर उम्मेदवारी दर्ता गराउनुभयो ।

वाम गठबन्धनको तर्फबाट आफूले टिकट पाएको भन्दै ढकालले आफै आधिकारिक उम्मेदवार भएको दाबी गर्नुभयो भने एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको टिकट ल्याएका लामिछानेले आफू नै आधिकारिक उम्मेदवार भएको दाबी गर्नुभयो ।

वामगठबन्धन भए पनि यस क्षेत्रमा दुबै पार्टीको उम्मेदवारी परेपछि विवाद सिर्जना भएको छ । यता नेपाली काँग्रेसमा पनि यस्तै समस्या आएको छ ।

भक्तपुर निर्वाचन क्षेत्र नं २ को प्रदेश नं १ कसूर्यविनायकमा नेपाली काँग्रेसका जिल्ला सचिव उद्धव सिलवालले दलबल र ¥यालीसहित उम्मेदवारी दर्ता गराउनुभयो ।

त्यसको आधाघण्टापछि पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई टिकट दिएकाले आफै आधिकारिक उम्मेदवार भएको बताउँदै काँग्रेसका युवा नेता अंगद खड्काले उम्मेदवारी दर्ता गराउनुभयो । उहाँको उम्मेदवारी परेसँगै काँग्रेस वृत्तमा तरंग पैदा भएको छ ।

सिलवाल भन्नुहुन्छ—“पार्टीले मलाई नै टिकट दिएको छ, त्यसैले काँग्रेसको आधिकारिक उम्मेदवार म हुँ, खड्काले कसरी टिकट पाउनुभयो मलाई थाहा छैन, उहाँको टिकट नै फर्जी हुनसक्छ ।” यता खड्काको दाबी पनि यस्तै नै छ ।

उहाँ भन्नुहुन्छ—“पार्टी सभापति शेरबहादुर देउवाले नै मलाई टिकट दिनुभएको हो, सिलवालजीले कहाँबाट टिकट ल्याउनु भो मलाई थाहा छैन, काँग्रेसको आधिकारिक उम्मेदवार मै हुँ ।” काँग्रेस र वाम गठबन्धनमा छुटृाछुटृै क्षेत्रमा बागी उम्मेदवार खडा भएपछि परेपछि तरंग र विवाद सिर्जना भएको हो । रासस