काठमाडौं, १७ कार्तिक । वाम गठन्धनबाट काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेद्धवार बनेका झक्कुप्रसाद सुवेदीले अबको निर्वाचनपछि वामपन्थीहरुले अत्यधिक बुहमतको सरकार बनाउने र देशलाई समृद्धितिर लैजाने भएकोले आफूले जितेपछि जनताको सेवामा समर्पित हुने विश्वास दिलाए ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा कार्यक्रममा सुवेदीले वामपन्थीहरुको सरकार बनेपछि मुलुकमा रोजगारी सिर्जना हुने र मुलुक समृद्धिको यात्रामा अघि बढ्ने समेत स्पष्ट पारे । उनले भने,‘हाम्रो मुख्य एजेण्डा भनेको नै आर्थिक समृद्धि र राष्ट्रिय स्वाधिनता नै हो, त्यस्तै गरिबी उन्मुलन र स्वदेशमा रोजगारी खोल्ने हो।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफू भोलिदेखि जनताको घरदैलोमा निस्किने समेत जनाए । सुवेदीले थपे,‘भोलिदेखि म जनताको घरदैलोमा जाँदैछु, म हरेक जनताको समस्या सुन्नेछु, त्यही अनुसार के गर्न सक्छु भन्ने कुराको म प्रतिबद्धता जनाउनेछु, तर जनतासामू गरेका सबै वाचाहरु पूरा गर्नेछु।’

उनले आफूले ठाउँ परिवर्तन गरेको भन्दापनि पार्टीले दिएको जिम्मेवारीलाई समयसापेक्ष पूरा गरेको उल्लेख गर्दै भने,‘म ११ वर्षदेखि काठमाडौंमा छु, यहाँका जनताहरुको सेवामा छु, हिजोका दिनमा म २ नम्बर क्षेत्रका जनताहरुसँग थिएँ, ०६४ को निर्वाचनमा मलाई २ नम्बर क्षेत्रका जनताहरुले अत्यधिक बहुमतले विजयी गराउनुभयो।’ उनले आफू कोटेश्वरमा बस्ने भएकोले त्यहाँका र त्यो क्षेत्रका जनताहरुको ऋणि भएको समेत स्विकार गरे ।
त्यस्तै उनले आफू कोटेश्वरमा पनि भाडामा बस्ने भएकोले अब ६ नम्बर क्षेत्रमा सर्ने समेत योजना सुनाए । उनले भने,‘जहाँ जिम्मेवारी हुन्छ, त्यही सेवा गर्छु, अब म ६ नम्बर क्षेत्रका जनताहरुको सेवामा म समर्पित हुन्छु।’ उनले काठमाडौंका मनोहरा कोरिडोर आफ्नो अवधारणा भएकोले यही नै आफ्नो जितको मुख्य आधार भएको जिकिर गरे । उनले आफू जनताको दुःखको साथी बन्नको लागि चुनावी मैदानमा होमिएको समेत स्पष्ट पारे ।




प्रतिक्रिया