कात्तिक १७, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टिकट वितरणका क्रममा आर्थिक चलखेल गरेको आरोप लागेको छ ।
रुपन्देहीका एक नेताले पार्टी सभापति देउवाले इमानदार र योग्य व्यक्तिलाई टिकट नदिई पैसा बुझाउन सक्नेलाई टिकट वितरण गरेको आरोप लगाउँदै पार्टी परित्याग गरेका छन् ।
आफ्नो लागि फिक्स भएको टिकट अन्तिम समयमा अर्कैलाई दिइएको भन्दै रुपन्देहीका पुराना कांग्रेस नेता तथा कांग्रेसका महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेलले पत्रकार सम्मेलन गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरे ।
‘मेरो टिकट आर्थिक चलखेलकै कारण अरुलाइ दिइयो,पार्टी कसैको पेवा होइन हामी कसैका गोटी होइनौं’ उनको आरोप छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० निवासी पौडेलले आगामी मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ को ‘ख’बाट उम्मेदवारी दर्ता गराएपछि आफूमाथी भएको अन्याय र अत्याचार सहन नसकेर उम्मेदवारी दर्ता गराएको तथा पार्टी परित्याग गरेको जानकारी गराए ।
२०३४ सालमा पार्टीको साधारण सदस्यता प्राप्त गरी राजनीति आरम्भ गरेका पौडेल २०३६ सालमा क्रियाशील सदस्य भएका थिए । उनले आफूले पार्टीका लागि धेरै योगदान गरे पनि आफ्नो योगदानको पार्टीमा कुनै मुल्याङ्कन नभएको र पैसावाला तथा नवप्रवेशीहरुको हातमा पार्टी पुगेको आरोप लगाए ।
पत्रकार सम्मेलनमा भावुक बनेका पौडेल पार्टीमा नताबाट र कृपाबादका कारण टिकट वितरणमा देखाएको अकर्मण्यताले पार्टीप्रति निष्ठाबान, प्रतिवद्ध इमान्दार नेता तथा कार्यकर्तालाई निकै ठूलो चोट परेको उल्लेख गरे ।




प्रतिक्रिया