कात्तिक २१, काठमाण्डौ । आफु जित्ने नभै रामचन्द्र पौडेललाई हराउने उद्देश्यले बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेपछि जोशी वाम गठबन्धनसँग नजिक भएका छन् ।
भ्रष्टाचारको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा चुनाव लड्न लागेका जोशीको उम्मेदवारी आयोगले रद्द गरेपछि जोशीको पछि लाग्ने कार्यकर्ता अन्यौलमा छन् ।
यसैबीच सोमबार डुम्रेमा आयोजित चुनावी प्रचार-प्रसार कार्यालय उद्घाटन समारोहमा नेपाली काग्रेस तनहुँ क्षेत्र नं १ का क्षेत्रीय सभापति उदयराज गौली समेत उपस्थित भएका छन् । गौली यस अगाडि पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई टिकट दिनुपर्छ भन्ने पक्षमा वकालत गर्दे आईरहेका थिए । तर जोशीको उम्मेवारी खारेजी सगै गौली सहित क्षेत्रीय कार्य समितका जिम्मेवार नेताहरु वरिष्ठ नेता पौडेलको चुनावी प्रचारप्रसार अभियानमा सहभागी भएका छन् । गोविन्दराज जोशीलाई तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधीसभाका लागि कांग्रेसले उम्मेदवार बनाउनुपर्ने मागसहित जोशीको पक्षमा लागेर लविङ गरेका गौली अहिले पौडेलको पक्षमा खुलेर लागेका हुन् ।

पौडेलको चुनावी सभामा खुलेर लागेका गौली अन्ततः पार्टीको अनुशासन मान्दै जोशीको साथ छोडेका हुन् । तर जोशीको पक्षमा देखिएका केही स्थानीय नेता तथा कार्यकर्ता भने वाम गठबन्धनको पक्षमा लागेर पौडेलका प्रतिस्पर्धी उम्मेदवारलाई भोट माग्नमा व्यस्त रहेको तनहुँ कांग्रेसका कार्यकर्ताले बताएका छन् ।
यसअघि सोही क्षेत्रबाट कांग्रेसले उम्मेदवार बनाएका शंकर भण्डारीको विरुद्धमा लागेर दोस्रो संविधानसभा चुनावमा पनि जोशीले एमालेका उम्मेदवारलाई भोट मागेका थिए । कांग्रेसका पूर्व सहमहामन्त्रीसमेत भइसकेका जोशीको एउटै लक्ष्य पौडेललाई चुनावमा हराएर कमजोर बनाउन खोज्नु भएकाले गैर कांग्रेसीसँग मिलेर जोशीले पौडेललाई हराउने षडयन्त्र गरेको आशंका गरिएको छ ।
निर्वाचन आयोगले उम्मेदवारी रद्द गर्नुअघिसम्म आफू नै कांग्रेसको आधिकारिक उम्मेदवार दाबी गर्दै चुनावी प्रचार प्रसारमा लागेका जोशी अहिले भने मौन छन् । खुलेर वाम गठबन्धनको समर्थन नगरे पनि भित्र भित्रै एमालेका उम्मेदवारको पक्षमा जनमत बटुल्दै हिँडेको कतिपयको आरोप छ । जोशी पक्षधर कांग्रेसका कार्यकर्तासमेत अहिले पार्टी परिवर्तन गर्ने मनस्थितीमा पुगेको प्रतिक्रिया दिन थालेका छन् ।
तर तनहुँ क्षेत्र नम्बर १ मा पौडेलको जित सहज भएको दाबी सच्चा कांग्रेसीहरुले गरेका छन् । तनहुँका सबै कांग्रेस उम्मेदवार एकजुट भएर चुनावी प्रचारमा लागेकाले पनि वाम गठबन्धनलाई पराजित गर्ने अनुमान गरिएको छ ।
क्षेत्रीय सभापति गौली सहित क्षेत्रीय कार्य समितिका जिम्मेवार पदाधिकारीहरु चुनावी प्रचार प्रसार अभियानमा सहभागी हुनु अत्यन्त सकारात्मक भएको तनहुँका काग्रेसी नेता तथा कार्यकर्ताहरुको भनाई रहेको छ ।




प्रतिक्रिया