Logo

बजेट निकासा नहुँदा अस्पतालको सेवामा समस्या



बैतडी, २२ कार्तिक । दशरथचन्द नगरपालिकाले समयमा बजेट निकासा नगर्दा जिल्ला अस्पताल बैतडीले प्रदान गर्ने सेवा प्रवाहमा समस्या भएको छ ।

बैतडी जिल्ला अस्पताल विकास समितिको मंगलबार बसेको बैठकमा अस्पतालले सञ्चालन गर्ने सेवा बजेटको अभावमा प्रवाह गर्नमा समस्या भएको जानकारी दिइएको छ ।

यसअघि अस्पताल विकास समितिकै खातामा आउने रकम दशरथचन्द नगरपालिकाको खातामा आएको र अहिलेसम्म बजेट निकासा नहुँदा अस्पतालमा औषधि, केमिकललगायतका अति आवश्यक कुराको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताउनुभयो ।

जिल्ला अस्पताल र दशरथचन्द नगरपालिकाबीच समयमै समन्वय नहुँदा समस्या देखिएको हो । गएको असोज २६ गते नै बजेट निकासाका लागि नगरपालिकालाई पत्र लेखेको डा अवस्थीले बताउनुभयो ।

नगरपालिकाले विविध कारणले अझै पनि बजेट निकासा गर्न सकिरहेको छैन । अस्पतालका लागि निकासा गर्नुपर्ने बजेट छिट्टै निकासाका लागि पहल गर्ने दशरथचन्द नगरपालिका–४ का वडाध्यक्ष मोहन चन्दले जानकारी दिनुभयो ।

कर्मचारी अभाव, निर्वाचनलगायतका कारणले समयमा बजेट निकासा हुन नसकेको उहाँले स्वीकार गर्नुभएको छ । अस्पतालमा देखिएको समस्या समाधानका लागि पहल गर्ने अस्पताल विकास समितिका अध्यक्ष रमेश भण्डारीले बताउनुभयो ।

स्वास्थ्यको बजेट सबै स्थानीय तहमा गइसकेपछि पहिलो चौमासिकमा कुनै पनि कार्यक्रम सञ्चालन नभएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई हतारमा स्थानीय तहमा हस्तान्तरण गर्दा समस्या आएको डा अवस्थीले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्