Logo

आर्थिक अभावले उपचारमा बाधा



बागलुङ, २३ कार्तिक । घाँटीको क्यान्सरबाट पीडित गलकोट नगरपालिका–७ सिरवारेकी ५४ वर्षीया कौशिला दर्जीको उपचारमा आर्थिक अभाव भएको छ ।

क्यान्सरको उपचारका लागि किमो गर्न नसकेपछि दर्जीका परिवारले सहयोगको याचना गरेका छन् ।

दर्जी गत जेठ २४ गतेदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ । “ऋण काढेर चार पटक किमो चढाइयो, अझै दुई वटा चढाउनलाई पैसा छैन”, दर्जीका श्रीमान् टेकबहादुर दर्जीले भन्नुभयो ।

एउटा ‘किमोका लागि रू ४० हजार खर्च हुने गरेको उहाँको भनाइ छ । चिकित्सकले रोग निको हुने बताए पनि उपचार गर्न नसकिने हो कि भन्ने चिन्तामा दर्जीका श्रीमान् र आफन्तजन छन् । नाताले भाइ पर्ने खेमराज भित्रीकोटीको पहलमा गाउँमा सहयोग जुटाएर दर्जीको उपचार शुरु गरिएको थियो । “थप सहयोग जुट्छ कि भनेर सदरमुकामसम्म पनि गयौँ, तर अपेक्षा गरेजस्तो भएन”, भित्रीकोटीले भन्नुभयो ।

निःसन्तान दर्जी दम्पतीको पैसा आर्जन गर्ने बाटो नभएपछि उपचारमा बाधा निम्तिएको हो । समयमै पैसा जुटाउन नसके अस्पतालले उपचाररत श्रीमतीलाई फिर्ता पठाउने हो कि भन्ने चिन्ताले दर्जीका श्रीमान् टेकबहादुरलाई पिर परेको छ ।

श्रीमती अस्पताल भर्ना भएकै दिन टेकबहादुरको घाँस काट्ने क्रममा लडेर हात भाँचिएपछि घर सम्हाल्न धौ–धौ छ । बिरामी दर्जीले भरतपुरमा रहेका आफन्तको घरमा बसी अस्पतालबाट किमो लिइरहनुभएको छ । उहाँको उपचारमा हालसम्म रु दुई लाखजति खर्च भएको र थप रु तीन लाख खर्च हुने जनाइएको छ ।

“घरको आम्दानी केही छैन, काम गरेर खाने हामीलाई यस्तो आइलाग्यो” टेकबहादुरले भन्नुभयो, “यस्तो कसैलाई नपरोस्, गरिबले उपचार गर्न पनि नसक्ने भयो ।”, टेकबहादुरले भन्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्