Logo

बंगलादेशमा पुग्ने रोहिंगाको संख्या ६ लाख १३ हजार : आइओएम



जेनेभा, २५ कात्तिक  :आप्रवासनसम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था आइओएमले बंगलादेश पुगेका म्यान्माली शरणार्थी रोहिंगाको संख्या ६ लाख १३ हजार पुगेको जनाएको छ ।

गएको अगष्ट २५ तारिखदेखि म्यानमारको राखिन राज्यमा सुरु भएको उनीहरुमाथिको हिंसाका कारण देश छोडेर भाग्ने शरणार्थीको संख्या छ लाख नाघेको हो ।

उनीहरु बंगलादेशको कोक्स् बजारमा बसोबास गरिरहेका छन् । बंगलादेश सरकारले उनीहरुलाई सो क्षेत्रमा शरणार्थी शिवीरहरु बनाइदिएको छ ।

शुक्रबार जेनेभामा आयोजित एक पत्रकार सम्मेलनमा आइओएमका प्रवक्ता जोल मिलम्यानले सो जानकारी दिनुभएको हो । उहाँले ती शरणार्थीहरुको अवस्था भने अत्यन्तै कष्टकर रहेको बताउनुभयो ।

निकै साँघुरो ठाउमा उनीहरुलाई राखिएको, आवश्यक मात्रामा आधारभूत आवश्यकताको पनि उनीहरुमा आपूर्ति हुन नसकेको, उनीहरुको संख्या धेरै भएका कारण जनघनत्व बढीहुदा निकै कठिन भएको र सडक र बिजुलीको पनि आवश्यक प्रबन्ध हुन नसकेकोले गर्दा उनीहरुलाई गाह्रो भएको उहाँले बताउनुभयो ।

यसका लागि विश्व समुदायसँग आग्रह भएको भए पनि आवश्यक मात्रामा उनीहरुले सरसहयोग पाउन नसकेको गुनासो पनि उहाँले सो पत्रकार सम्मेलनमा गर्नुभयो ।

बालबालिकाको अवस्था एकदमै टीठलाग्दो देखिएको, उनीहरुलाई पोषणयुक्त खानेकुराहरु नभएको र औषधि उपचारको समेत कमी हुने अवस्था देखिएको पनि उहाँले बतउनुभयो ।

सडकको अभावका कारण आवश्यक सहायता सामाग्री पुर्याउन समेत गाह्रो भएको अनुभव उहाँले पोख्नुभयो । बृद्धबृद्धाहरुले पनि निकै अप्ठेरोगरी जीवन गुजारा गरिरहनु परेको उहाँले बताउनुभयो ।

राष्ट्रसंघको सहयोगमा बालबालिकालाई खोप
यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार उक्त शिवीरमा रहेका शरणार्थी बालबालिकाका लागि संयुक्त राष्ट्रसंघ र बंगलादेश सरकारले बालबालिकालाई खोप कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

प्राप्त समाचारअनुसार शरणार्थी बालबालिकाको अवस्था दिनप्रतिदिन कष्टकर बन्दै गएको तथा उनीहरुलाई खोप तथा औषधि उपचारको व्यवस्था पनि नरहेकोले बताइएको थियो ।

पछिल्लो समयमा यहाँका बालबालिका निमोनिया र झाडापखालाले ग्रसित भएका समाचार आएको थियो । बालबालिकाको अवस्था सुधारका लागि भन्दै संयुक्त राष्ट्रसंघीय बालकोष र बंगलादेश सरकारले दादुराको खोप दिने व्यवस्था गराएको बताइएको छ ।(रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्