Logo

विश्वकप खेल्ने ३२ टोलीको टुंगो लाग्यो, पेरु छनोट हुने अन्तिम टोली



काठमाडौं, ३०  कार्तिक। ल्याटिन अमेरिकी मुलुक पेरु अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको लागि छनोट हुने अन्तिम टोली बनेको छ ।

अन्तरमहादेशीय प्ले अफ् दोस्रो लेगको खेलमा न्यूजिल्याण्डलाई २-० ले हराउँदै पेरुले रुसको टिकट काटेको हो । पेरुको राजधानी लिमामा आज बिहान भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन जेफर्सन फारफान र क्रिश्चियन रामोसले एक–एक गोल गरे ।

जितसँगै पेरु ल्याटिन अमेरिकी समूहबाट विश्वकपमा छानिने पाँचौ टोली बन्दा ओसियाना समूहको विजेता न्युजिल्याण्ड भने बाहिरिएको छ । यो सँगै विश्वकपका लागि सबै ३२ टोलीको टुंगो लागेको छ । यसपटक युरोपबाट सबैभन्दा बढी १४ टोलीले विश्वकप खेल्दैछन् ।

आयोजक रुससँगै इङ्ल्यान्ड, जर्मनी, स्पेन, फ्रान्स, क्रोएसिया, सर्विया, स्विडेन, डनेमार्क, आईसल्याण्ड, पोर्चुगल, पोल्याण्ड, बेल्जियम र स्विट्जरल्याण्डले विश्वकपमा ठाउँ बनाएका छन् ।

यसैगरी दक्षिण अमेरिकाबाट पाँच टोली ब्राजिल, अर्जेन्टिना, उरुग्वे, कोलम्बिया र पेरुले विश्वकपका स्थान पक्का गर्दा एसियाबाट पनि पाँच राष्ट्र जापान, ईरान, दक्षिण कोरिया, साउदी अरेबिया र अष्ट्रेलिया विश्वकपका लागि छानिएका छन् ।

यसैगरी अफ्रिकाबाट ५ राष्ट्र नाईजेरिया, सेनेगल, ट्युनिसिया, मोरक्को र ईजिप्टले रुसको टिकट काट्दा उत्तर तथा मध्य अमेरिका एवं क्यारेबियन क्षेत्रबाट ३ राष्ट्र मेक्सिको, कोष्टा रिका र पानामाले विश्वकपमा ठाँउ बनाएका छन् ।

यसपटक ईटाली, नेदरल्याण्ड्स, अमेरिका, क्यामरुन जस्ता बलिया देश आगामी विश्वकपमा छनौट हुन सकेनन् ।एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्