Logo

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरु (फोटोफिचर)



काठमाडौँ, १ मंसिर : नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा ‘प्रधानसेनापति पाँचौँ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७४’ आजदेखि शुरु भएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले जंगी अड्डास्थित फुटबल मैदानमा एक समारोहकाबीच निर्णायक मण्डललाई फुटबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा मित्रराष्ट्र भारतको सिक्किम महिला फुटबल टिम र विहार महिला फुटबल टिम गरी दुई, घरेलु विभागीय महिला फुटबल टिम तीन र पाँच विकास क्षेत्रका महिला फुटबल टिम पाँच गरी जम्मा १० टिमको सहभागिता रहेको नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

जंगी अड्डा तथा लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकुद केन्द्रको मैदानमा आगामी मंसिर ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताअन्तर्गत आज नेपाली सेनाको त्रिभुवन आर्मी महिला फुटबल टिम र पश्चिमाञ्चल महिला फुटबल टिमबीच भएको उद्घाटन खेलमा आर्मी महिला टिमले पश्चिमाञ्चल टिमलाई १२–० गोल अन्तरले पराजित गरेको छ ।

सो उद्घाटन खेलमा त्रिभुवन आर्मी महिला फुटबल टिमकी कृष्णा खत्री उत्कृष्ट खेलाडी घोषित भइन् । उनले व्यक्तिगत ७ गोल गरेकी थिइन । साथै लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकुद केन्द्रको मैदानमा मध्यपश्चिमाञ्चल महिला फुटबल टिम र नेपाल प्रहरीको महिला फुटबलबीच आजै भएको खेलमा प्रहरीको टिमले मध्यपश्चिमाञ्चल टिमलाई १२–० गोल अन्तरले पराजित गरेको छ ।

उक्त खेलमा नेपाल प्रहरी महिला फुटबल टिमकी निर्मला विक उत्कृष्ट खेलाडी घोषित भइन् । उनले व्यक्तिगत ४ गोल गरेकी थिइन् । प्रतियोगितामा सबै खेल नक आउटका आधारमा खेलाइएको सेनाले जनाएको छ ।

उद्घाटन कार्यक्रममा रक्षा सचिव विनोद केसी, नेपाली सेना तथा प्रहरीका उच्च अधिकारी र अखिल नेपाल फुटबल संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

तस्विर :मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्