Logo

कांग्रेसको नेतृत्वमा सरकार बनाउने सल्लाह भैसकेको छ : प्रधानमन्त्री देउवा



‘कम्युनिस्ट शासन व्यवस्थाले कर्णालीको मुहार फेर्दैन’

कालीकोट, ७ मंसिर : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वाम गठबन्धनको सरकार भएमा कर्णालीको विकास नहुने आरोप लगाएका छन् ।

नेपाली काँग्रेस कालीकोटले नरहरिनाथ गाउँपालिकाको कोटवाडामा आज आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले कर्णाली हरेक क्षेत्रमा पछि परेपनि काँग्रेसबाहेक अरु कसैको ध्यान नपुगेको बताउँदै सुदूरपश्चिम र मध्यपश्चिमसँगको सु–सम्बन्धले प्रगति हुनेसमेत बताएका हुन । प्रधानमन्त्री देउवाले कर्णालीको भू–सम्पदा तथा पर्यटन क्षेत्रको अथाह सम्भावना रहेकाले अबको विकास झन सुदृढ गर्दै अघि बढ्ने ठोकुवासमेत गर्नुभएको छ ।

आगामी निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने पक्का भैसकेको उनको भनाई थियो । उनले भने,‘हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्ने सल्लाह भैसकेको छ ।’

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले काँग्रेसले विगत २००७ सालदेखि हालसम्म नेपालको प्रगति चाहेको बताउँदै भावी दिनमा नेपाल र नेपाली जनताका लागि नेपाली काँग्रेस लागिपरेको बताएका छन् ।

साथै, प्रधानमन्त्री देउवाले नेपालमा वाम गठबन्धनभन्दा लोकतान्त्रिक गठबन्धनप्रति विश्वास कायम गरेर नेपालमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भएमा लोकतन्त्रको रक्षा हुनेसमेत बताए ।

उनले कर्णाली राजमार्ग र कर्णाली करिडोर जोड्ने लालुखुलालु पुल बनाउने, पर्यटन विकास गर्ने, कोटबाडास्थित् सुनथराली एयरपोर्टको नियमित उडान गर्ने, सडक सञ्जालहरु विस्तार गर्ने, सबै गाउँपालिकाहरुको केन्द्रमा सडक जोड्ने त्यो पनि एक वर्षभित्रमा सम्पन्न गर्ने विश्वास दिलाए ।

कडा सुरक्षाका बीचमा भएको चुनावी सभामा १० मिनेट मात्र समय लिएर बोलेका  प्रधानमन्त्री देउवाको आजै जुम्ला जाने कार्यक्रम रहेको बताइएको छ ।

त्यस्तै कार्यक्रममा प्रतिनिधि सभाकाका उम्मेद्धवार भुपेन्द्रजंग शाहीले आफूलाई विजयी गराउन आग्रह गरे । उनले भने,‘म सबैको साझा उम्मेद्धवार हुँ । मलाई सबैको साथ छ । मैले स्वास्थ्य, शिक्षा लगायतका धेरै क्षेत्रमा काम गरेको छु । तर माओवादीलेजित्दा पनि केही काम गर्न सकेको छैन् ।’

उनले आफू हारेको मान्छे हुँदापनि जितेको भन्दा बढि काम गरेकोले यो निर्वाचनमा विजयी गराए जनताको मन जित्नेगरि काम गर्ने वचन दोहोर्याए ।



प्रतिक्रिया दिनुहोस्