Logo

उत्तर कोरिया र क्युबा सहकार्य गरी अघि बढ्ने



हवाना, ७ मंसिर (रासस/सिन्ह्वा) : यता संयुक्त राज्य अमेरिकासँग दुवै देशको सम्बन्ध विग्रिएको अवस्थामा उत्तर कोरिया र क्युबाले द्विपक्षीय सम्बन्धका साथै पछिल्लो समयमा विकसित विविध परिस्थितिजन्य विषयमा दुई देशबीच आवश्यक छलफल गरेर अघि बढ्ने जनाएका छन् ।

उत्तर कोरियाली विदेशमन्त्री सोमबार क्युबाको औपचारिक भ्रमणका लागि जानुभएको थियो । राजधानी हवानामा यी दुई देशबीचमा सो सहमति बनेको बताइएको छ । बिहीबार प्रकाशित संयुक्त विज्ञप्तिमा सो प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्राप्त पछिल्लो समाचारअनुसार उहाँको सो भ्रमण यस्तो समयमा भएको थियो जुन समयमा अर्थात हालैका दिनहरूमा उत्तर कोरिया र क्युबासँग नै अमेरिकाको सम्बन्ध विग्रिएको छ ।

क्युबाको भ्रमणमा रहनुभएका उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो र क्युबाली विदेशमन्त्रीको भेटवार्तापछि जारी भएको संयुक्त विज्ञप्तिमा यी दुई देशले आपसमा मिलेर अघि बढ्ने सहमति जनाएका बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले उत्तर कोरियाका विरुद्धमा आर्थिक नाकाबन्दी लगाएको छ । यतिमात्र नभएर उत्तर कोरियाका विरुद्धमा अमेरिकाले सेना पनि परिचालन गर्नसक्ने बताउदै आएको छ ।

उता क्युबासँग पनि पछिल्लो समयमा अमेरिकाको सम्बन्ध बिग्रिएको छ । क्युबासँगको सम्बन्धका कारण अमेरिकाले गत महिनामात्र क्युबामा रहेको अमेरिकी दूतावासबाट आफ्ना आधा जति कर्मचारी फिर्ता बोलाएको छ ।

यस्तो अवस्थामा यी दुवै देशले एक भएर अघि बढ्ने सहमति गरेका हुन् । उनीहरुले कुनै पनि समस्याको समाधानका लागि दुई देशले आपसमा समन्वय गरेर आपसी सहयोगका साथ अघि बढ्ने बताएका हुन् ।

सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै क्युबा र उत्तर कोरियाले भने असल कूटनीतिक सम्बन्ध कायम गर्दै आएका समाचारमा जनाइएको छ ।

उत्तर कोरियाले पछिल्लो समयमा आणविक क्षेप्यास्त्र परीक्षण गरिरहेका कारण त्यसको विरोध गरिरहेको अमेरिकाका विरुद्धमा उत्तर कोरिया झन कडा रुपमा प्रस्तुत हुने गरेको छ । यसकारण यी दुई देशको सम्बन्ध अहिले राम्रो छैन ।

त्यसैगरी क्युबासँग अमेरिकाको झण्डै आधा शताब्दी लामो समयदेखि सम्बन्ध बिग्रिएको थियो । त्यस सम्बन्धमा अमेरिकाका निवर्तमान राष्ट्रपति बाराक ओबामाको प्रयासले सम्बन्ध पुनःस्थापना गरिएको थियो । तर ट्रम्प प्रशासन आएपछि भने त्यसले निरन्तरता पाउन सकेन ।



प्रतिक्रिया दिनुहोस्