Logo

भारतीय प्रधानमन्त्रीद्धारा इजिप्ट आक्रमणको निन्दा



कायरो, ९ मङसिर  : इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको मस्जिदमा शुक्रबार भएको बर्बरतापूर्ण आक्रमणको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कडा शब्दमा निन्दा गर्नु भएको छ ।

यस आक्रमणमा परी ज्यान गुमाएका नागरिकका परिवारजनलाई मोदीले समवेदना प्रकट गर्नु भएको छ । त्यसैगरी यस घटनामा घाइते भएका व्यक्तिहरुलाई सीघ्र स्वास्थ्य लाभको समेत उहाँले कामना गर्नु भएको उहाँको ट्वीटरमा उल्लेख छ ।

यस दुखद् घडीमा भारतको इजिप्टको साथ रहेको र आतङ्ककारी विरुद्धको लडाईमा भारतको सधै साथ रहने पनि मोदीले बताउनुभएको छ ।

यस मानवताविहीन आक्रमणमा परी २३५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ सय भन्दा बढी घाइते भएका छन ।

प्रार्थनाका लागि भेला भएका मुस्लिम धर्मावलम्वी ठूलो संख्यालाई लक्षित यो आक्रमण भएको हो ।

गत चार बर्षयता इस्लामिक स्टेट्स (आईएस) द्वारा भएका घटनामध्ये यो सवै भन्दा ठूलो घटना भएको बताइएको छ ।

इजिप्टमा केहीबर्ष यता आईएसका लडाकूहरूले गरेको आतङ्ककारी आक्रमणमा परी सयौँ प्रहरी, सैनिक र आम नागरिकहरूको हत्या भईसकेको छ ।

आक्रमणमा परी शुक्रबार मारिएका र घाइते भएकाहरू सवै जना आम नागरिक तथा प्रार्थनाका लागि भर्ना भएका व्यक्तिहरू रहेका छन् ।

इजिप्टमा आइएस लडाकू समूहले आम नागरिक र सुरक्षाकर्मीहरूलाई नै लक्षित गरी लगातार आक्रमणहरू गर्दै आइरहेका छन् ।

सरकारी समाचार संस्थाका अनुसार आक्रमणकारीहरूले उत्तरी गाउँ अल रावडामा रहेको मस्जिदमा प्रवेश गरि बम पड्काउनुका साथै गोली प्रहार गरेका थिए ।

घाइतेको उद्धारका लागि आएका एम्बुलेन्सहरूमाथि पनि उनीहरूले गोली प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

घटनामा परी घाइते भएकाहरूको स्थानीय विभिन्न अस्पतालहरूमा उपचार भइरहेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आक्रमणकारीहरूले प्रार्थनाका लागि मस्जिदमा आएका सुफी समुदायलाई लक्षित गरेको अनुमान गरिएको छ । (रासस/एएफपी)
–––



प्रतिक्रिया दिनुहोस्