Logo

वाम गठबन्धनलाई मत दिएर पछुताउनु पर्दैन : माधव नेपाल



काठमाडौ ९ मंसिर : नेकपा (एमाले)का नेता माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनलाई मतदान गरेर जनता पछुताउनु नपर्ने बताउनुभएको छ ।

काठमाडौँ क्षेत्र नं २ को थलीमा आज वाम गठबन्धन निर्वाचन परिचालन कमिटीले आयोजना गरेको क्षेत्रीय चुनावीसभालाई सम्बोधन गर्ने क्रममा उहाँले यसअघि एमाले र नेकपा (माओवादी केन्द्र) सरकारमा छँदा जनताको पक्षमा भरमज्दुर काम गरेको बताउँदै भन्नुभयो, ‘‘अबको निर्वाचनमा पनि जनताले हामीलाई बहुमत दिएर जनताको पक्षमा काम गर्ने अवसर दिनुहुन्छ भन्ने विश्वास छ । हामीलाई मत दिएर कसैले पछुताउनु पर्दैन ।’’

काठमाडौ क्षेत्र नंं २ बाट वाम गठबन्धनका तर्फबाट उम्मेदवार नेता नेपालले नेपाली काँग्रेसले वाम गठबन्धनले जित्यो भने अधिनायकवाद आउने र नागरिकका स्वतन्त्रता हनन हुनेजस्ता भ्रम फैलाएको आरोप लगाउँदै कम्युनिष्टले जनताले दिएको मतको कदर गर्दै मुलुकलाई समृद्धितर्फ लैजाने दृढता व्यक्त गर्नुभयो ।

‘‘मेरै निर्वाचन क्षेत्रमा काँग्रेसले कम्युनिष्टले अधिनायकवाद ल्याउँछ भनेर दुष्प्रचार गरेको छ’’, पूर्वप्रधानमन्त्री नेपालले थप्नुभयो, ‘‘तर हामी त्यसो गर्दैनौँ । वामगठबन्धनले बहुमत ल्याउने डरले काँग्रेसले भ्रम फैलाएको हो । ’’

कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले वाम गठबन्धन मुलुकको स्थिरताका लागि बनेको जिकिर गर्दै भन्नुभयो, ‘‘देशमा एउटै कम्युनिष्ट दलको आवश्यता रहेको थियो । अहिले ढिलै भए पनि ठूला कम्युनिष्ट दल बुद्धि फिरेर एक हुन थालेका छन् । अब एउटै कम्युनिष्टले नै देश बनाउने हो ।’’

कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य अग्नि खरेल, वाम गठबन्धनतर्फबाट क्षेत्र नं २ प्रदेशसभा ‘क’का उम्मेदवार सानुकुमार श्रेष्ठ र ‘ख’का उम्मेदवार मणिराज फुयाँलले वामगठबन्धन मुलुकको विकासका लागि बनेको बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot