Logo

यस्ता छन्, संसदमा पुग्नै पर्ने तर हार निश्चित भएका उम्मेदवारहरु



१० मंसिर, काठमाण्डौ । आज भइरहेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केही यस्ता प्रतिस्पर्धा छन्, जहाँ उम्मेदवारी घोषणा भएसँगै चर्चा चुलिएको छ ।
घोषित रुपमा नै गठबन्धनको अभ्यासमा पहिलो पटक हुन लागेको निर्वाचनमा केही क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको हो । गठबन्धनको मत, उम्मेदवारको व्यक्तित्व र केही टकरावका कारण पनि ती क्षेत्रको चुनावी प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।
सबैभन्दा बढि चर्चा भएको निर्वाचन क्षेत्र गोरखा २ हो । जहाँ वाम गठबन्धनबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ र कांग्रेसको समर्थनमा बाबुराम भट्टराई प्रतिस्पर्धामा छन् ।
चुनाव प्रचराका क्रममा एक अर्काप्रति भएका तीखा टिप्पणीका कारण समेत यो क्षेत्र चर्चामा छ ।

यस्तै, बाहलवाला सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र पूर्व सञ्चारमन्त्री अग्नि सापकोटाको चुनावी क्षेत्र सिन्धुपाल्चोक १ को प्रतिस्पर्धा पनि रोमाञ्चक हुने आँकलन गरिएको छ। प्रचारका दौरान दुई उम्मेदवारले एक अर्कालाई लगाएका आरोप पनि निकै चर्चामा छन् ।

यस्तै सिन्धुपाल्चोक २ मा वाम उम्मेदवार शेरबहादुर तामाङ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा (प्रजातान्त्रिक) का पशुपति शमशेर राणाबीचको प्रतिस्पर्धालाई पनि रोचक मानिएको छ । संविधानसभा सदस्यमा दुई पटक सोही क्षेत्रबाट पराजित राणा जितको खोजीमा छन् । तामाङ सो क्षेत्रमा लगातार दोस्रो जितको खोजीमा छन् ।

ओखलढुङ्गाको प्रतिस्पर्धा पनि चर्चामा छ । संविधानसभा सदस्यका रुपमा संसदमा खेलेको भूमिकाका कारण उम्मेदवारद्वय रामहरि खतिवडा र यज्ञराज सुनुवार दुबै संसदीय राजनीतिमा चर्चित छन् । प्रदेश नम्बर १ मा कांग्रेसको बलियो क्षेत्रका रुपमा रहेको ओखलढुङ्गामा वाम गठबन्धनपछि तीव्र प्रतिस्पर्धाको आँकलन गरिएको छ ।

काठमाडौँ ६ मा दुई पटकको पराजयपछि एमाले सचिव योगेश भट्टराई योपटक ताप्लेजुङबाट चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् । हारमा ब्रेक लगाउने योगेशको दौडमा कांग्रेस उम्मेदवार केशव दाहालले कडा चुनौती दिने विश्लेषण हुने गरेको छ । भट्टराई र दाहालको चुनावी प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।

नुवाकोट १ बाट कांग्रेसका रामशरण महत र वाम गठबन्धनका हितबहादुर तामाङ तेस्रो पटक प्रतिस्पर्धा गर्दैछन् । दुई पटक महतसँग हार व्यहोरेका तामाङ बदला लिने दौडमा छन् । भने, महत आफ्नो विरासत जोगाउने अभियानमा छन् ।

नुवाकोट २ मा कांग्रेसकै अर्जुननरसिंह केसी र एमालेका नारायण खतिवडा प्रतिस्पर्धामा छन्। दुईको चुनावी भिडन्तलाई पनि रोचक हुने आँकलन गरिएको छ ।

जाजरकोटमा शक्ति बस्नेत र राजीवविक्रम शाह, गोरखामा हरि अधिकारी र चिनकाजी श्रेष्ठको चुनावी प्रतिस्पर्धालाई पनि चासोका साथ हेरिएको छ ।
चर्को प्रतिस्पर्धा हुने भनि माथि उल्लेख गरिएको कतिपय उम्मेदवार ससंदमा आवश्यक मानिने पनि छन् । तर जनताको हितमा काम गर्न सक्ने अपेक्षा गरिएको केही उम्मेदवार एकै ठाउँबाट प्रतिस्पर्धा गर्दा एकजना हार्ने निश्चित छ ।
यसले संसदमा भोलीका दिनमा हुने काम कारबाहीमा अभाव पक्कै पनि खड्किने छ ।



प्रतिक्रिया दिनुहोस्