Logo

कुन नेताले काहाँबाट मतदान गरे, क-कसको हुँदैछ भाग्य फैसला ?



काठमाडौं १० मंसिर ।  संघीय संरचनाअनुसार पहिलोपटक भइरहेको निर्वाच्नमा राजनीतिक दलका शीर्ष नेताहरुले शुरुमै मतदान गर्नुभएको छ । केहीले आफूसहित अरुलाई मतदान गर्नुहुनेछ भने केहीले निर्वाचन क्षेत्र फरक परेकाले आफूलाई मत दिन पाउनुहुने छैन । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका ८ जौबारीस्थित आदर्श उमाविमा मतदान केन्द्रमा मतदान गर्नुभएको छ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाबाट आज मतदान गर्नुभएको छ । गोरखा २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका भट्टराईको मतदान केन्द्र पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि, खोप्लाङमा छ ।

यसैगरी माओवादी कै अग्नि सापकोटाले सिन्धुपाल्चोकको साँगाचोकगढी ४ स्थित पञ्चकन्या मावि मतदान केन्द्रमा भोट हाल्नुभएको छ । एमाले सचिव योगेश भट्टराई पनि पहिलो चरणका मतदाता हुनुहुन्छ । ताप्लेजुङको प्रदेशसभा सदस्यतर्फको चुनावी मैदानमा उत्रिनुभएका भट्टराईको नाम मैवाखोला गाउँपालिका ३ नारायणी उमावि केन्द्रमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणा सिन्धुपाल्चोकका मतदाता हुनुहुन्छ ।

मतदाता सूचीमा उहाँको नाम सुनकोसी गाउँपालिका २ को महेन्द्रोदय उमावि केन्द्रमा छ । पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा रुकुम मुसिकोट नगरपालिका ५ का मतदाता हुनुहुन्छ । उहाँको मतदान केन्द्र यमुनानन्द नमूना उमावि हो । उहाँले सोहि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । कांग्रेसका चीनकाजी श्रेष्ठ र एमालेका पृथ्वी सुब्बा गुरुङले पनि आजै मतदान गर्दैहुनुनुहन्छ ।

४ नम्बर प्रदेशका मुख्यमन्त्रीका दाबेदारका रुपमा हेरीनुभएका गुरुङ लमजुङबाट प्रदेशसभा सदस्य उम्मेदवार हुनुहुन्छ । उहाँले पनि आज मतदान गर्दैहुनुहुन्छ । उहाँको मतदाता नामावली क्व्होलासोथार गाउँपालिका ९ मा छ । उहाँको मतदान केन्द्र बुद्धोदय मावि परेको छ । गोरखा १ का उम्मेदवार चीनकाजी श्रेष्ठले आरुघाट गाउँपालिकाको भीमोदय उमावि मतदान केन्द्रबाट मत दिँदैहुनुहुन्छ

क कसको हुँदैछ भाग्य फैसला

पहिलो चरणको निर्वाचनबाट पूर्वप्रधानमन्त्रीदेखि ‘भावी प्रधानमन्त्री’को दावी गरिरहेकासम्म केहीको भाग्य फैसला हुँदैछ । यद्यपि, आज निर्वाचन भइरहेका क्षेत्रको मतगणना भने मंसिर २१ गतेपछि मात्र हुनेछ । आइतवार हुने मतदानले गोरखा, नुवाकोट, सिन्धुपाल्चोकलगायतका जिल्लामा प्रतिस्पर्धा गरिरहेका केही हेभीवेट नेताको भाग्य फैसला गर्दैछ ।

जसमध्ये गोरखाको क्षेत्र नम्बर २ मा पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र माओवादी बरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीचको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिंदैछ ।

भट्टराई नेपाली कांग्रेससँग मिलेर र श्रेष्ठ एमालेसँग मिलेर प्रतिष्पर्धामा होमिएका हुन् । यता, नुवाकोटमा भावी ‘प्रधानमन्त्री’ को दावी गर्दै कांग्रेस नेताहरु क्षेत्र नम्बर १ बाट डा. रामशरण महत र अर्जुननरसिंह केसी मैदानमा छन् भने उनीहरुका प्रतिस्पर्धीका रुपमा माओवादी केन्द्रका हितबहादुर तामाङ र नारायण खतिवडा छन् ।

प्रतिस्पर्धीका तुलनामा दुबै नेता ‘हेभीवेट’ मानिएपनि स्थानीय तह निर्वाचनमा प्राप्त मत दुबैका लागि निकै चुनौति बनेको छ ।सिन्धुपाल्चोकमा भने क्षेत्र नम्बर १ मा बहालवाला सञ्चारमन्त्री एवं कांग्रेस उम्मेदवार मोहनबहादुर बस्नेत र पूर्व सञ्चारमन्त्री माओवादी उम्मेदवार अग्नी सापकोटाको रोचक प्रतिस्पर्धा हुँदैछ ।

क्षेत्र नम्बर २ मा भने राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिसमशेर राणा एमाले उम्मेदवार शेरबहादुर तामाङसँग अग्निपरीक्षामा छन् ।उता, ताप्लेजुङमा भने एमाले सचिव योगेश भट्टराईलाई कांग्रेस उम्मेदवार केशव दाहालले चुनौति दिइरहेका छन् । पाँचथरमा कांग्रेस नेता भीष्मराज आङदेम्बे र एमालेका बसन्त नेम्वाङको प्रतिष्पर्धा पनि रोचक हुँदैछ । सोलुखुम्बुमा कांग्रेस नेता बलबहादुर केसीको भाग्य फैसला हुँदैगर्दा ओखलढुंगामा दुई युवा नेता कांग्रेसका रामहरि खतिवडा र एमालेका यज्ञराज सुनुवारको भाग्य परीक्षा हुनेछ ।

मुस्ताङमा पूर्व मन्त्री एवं कांग्रेस नेता रोमी गौचनलाई मौसमी चिसो र चुनावी तातो चिनुपर्ने दबाब छ भने लमजुङका मतदाताले कांग्रेस नेता दिलबहादुर घर्ती र माओवादी केन्द्रका देव गुरुङ मध्ये कसलाई चुन्लान् भन्ने चासो पनि उत्तिकै छ ।

जाजरकोटमा कांग्रेसका राजिवविक्रम शाह र माओवादी केन्द्रका शक्ति वस्नेतबीचको तीब्र प्रतिस्पर्धामा कस्ले बाजी मार्ने भन्ने छ भने रुकुम पश्चिममा माओवादीकै जनार्दन शर्माको चुनाव उत्तिकै रोचक छ । रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन र कांग्रेसका अमरसिंह पुनबीच प्रतिस्पर्धा हुँदै गर्दा कालीकोटमा कांग्रेसका भुपेन्द्रजंग शाही र माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीबीचको प्रतिस्पर्धा रोचक बनेको छ । पहिलो चरणमा हुन लागेको ६ वटा प्रदेशका प्रदेशसभातर्फ प्रतिष्पर्धी मूख्य मन्त्रीका दावेदार मानिएका केही नेताको भाग्य परीक्षा पनि यही निर्वाचनमार्फत् नै हुँदैछ ।

आइतवार विहान सात बजेदेखि साँझ ५ बजेसम्म मत खसालेका मतदाताको बक्साभित्र बन्द मतले कुनकुन नेताको भाग्य फैसला गर्ने हो त्यो भने मंसीर २१ पछि गरिने मतगणनाबाट मात्र टुंगो लाग्नेछ ।



प्रतिक्रिया दिनुहोस्