Logo

गोरखामा नगद र प्रचार समाग्रीसहित कार्यकर्ता पक्राउ, बाबुरामका कार्यकर्ता भएको आरोप



१० मंसिर, गोरखा । मौन अवधिको त कुरै छोडौँ, चुनावकै दिन नयाँ शक्ति पार्टीका कार्यकर्ता चुनावको प्रचार सामग्री र नगदसहित पक्राउ गरेका छन् । गोरखाको जौबारीमा एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित नयाँशक्तिका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका ५ जनालाई जौबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीसहित नगद १ लाख रुपैया बोकेर हिँडिरहेको अवस्थामा ती व्यक्तिहरुलाई जौबारी प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा गाडी चालक गोरखा–११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका–१० का डिलमान गुरुङ र अम्बरबहादुर गुरुङ छन् । त्यसैगरी गोरखा नगरपालिका–६ का भरतकुमार श्रेष्ठ र गोरखा(८का खुशबहादुर थापासमेत पक्राउ परेका छन् ।

अजिरकोटबाट भालुस्वरातर्फ आउँदै गरेको ग २ च १७२५ नम्बरको जीप गाडीमा उक्त नगद र प्रचार सामाग्री भेटिएको हो ।
मौन समयमा उक्त गाडी र नगद कुन प्रयोजनका लागि लगिएको थियो भन्नेबारे अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

नयाँ शक्तिका नेताहरुले भने पैसा बाँड्नलाई बोकेको नभई सो रकम कार्यकर्ता परिचालनका क्रममा उनीहरुका साथमा रहेका बुथ खर्च भएको बताएका छन् । मौन समयअघि गाडीमा राखिएका प्रचार समाग्रीहरु नियन्त्रण लिएर आचारसंहिता उल्लंघनको प्रचार गरिएको नयाँ शक्तिको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्