Logo

मार्वु मतदान केन्द्रमा पाँच राउन्ड हवाई फायर



दोलखा, १० मंसिर (रासस) : दिनभर शान्त रहेको दोलखाको निर्वाचनमा अपराह्नपछि तनाव शुरु भएको छ ।

नखसेको मत अन्य व्यक्तिले हाल्न खोजेपछि जिल्लाका विभिन्न मतदान केन्द्रमा तनाव भएको हो । बैत्येश्वर गाउँपालिका–७ मार्वुमा वाम गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेर मत हालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ ।

केहिले मतदान केन्द्र नियन्त्रणमा लिन खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बाध्य भएर हवाई फायर गर्नुपरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले जानकारी दिनुभयो ।

यस्तै गौरीशंकर गाउँपालिकाको सुरीमा वाम गठबन्धनका कार्यकर्ताले काँग्रेसका कार्यकर्तालाई लखेटेर मतदान केन्द्र कब्जामा लिन खोजेपछि केहिबेर दुबै पक्षबीच झडप भएको जनाएको छ ।

सोही गाउँपालिकाको जुँगुमा काँग्रेसका गाउँ सभापति ज्ञानबहादुर जिरेललाई कुटपिट गरेर मतदानस्थलबाट भगाएका छन् । त्यहाँ पनि प्रोक्सी मत हालिरहेको काँग्रेस जिल्ला सचिव सन्तोष रिमालले आरोप लगाउनुभयो ।

दोलखा भिरकोटमा बुथ कब्जा गर्न खोज्ने वाम गठबन्धनका युवालाई प्रहरी नियन्त्रणमा लिएको छ । तामाकोसी गाउँपालिका–१ एक्लेबारीस्थित वडा कार्यालयमा रहेको बुथमा वाम गठबन्धनले ल्याएका केही युवाले बुथ कब्जा गर्न खोजेपछि, प्रहरी नायब उपरीक्षकको कमाण्डमा रहेका प्रहरीले सात जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ परेकालाई सदरमुकाम चरिकोट ल्याई कानूनी प्रक्रियाअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

सधँैजसो झगडा भइरहने बैत्यश्वर गाउँपालिकाको गैरीमुदीलगायतको बुथमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको पनि जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । (तस्वीर उपलब्ध छ)



प्रतिक्रिया दिनुहोस्