११ मंसिर, काठमाण्डौ । कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेको चक्रपाणी खनालले जिल्लामा वाम गठबन्धन बलियो अवस्थामा रहेको दाबी गरेका छन् । वाम गठबन्धनलाई सबै जनताले स्विकार गरेको दाबी गर्दै खनालले आफ्ना प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार दिपकुमार उपाध्यायलाई सजिलै पराजित गर्ने दाबी गरे ।
उपाध्यायसँग आफूलाई प्रतिस्पर्धा गर्न गाह्रो नहुने उनको भनाई छ । स्थिर सरकारका लागि मतदाताले वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने विश्वास खनालको छ ।
मधेशी जनताको मागलाई वाम गठबन्धनले सम्बोधन गर्दै खनालले तराई मेधशमा लोकतान्त्रिक गठबन्धन कमजोर रहेको जिकिर गरे । विगतमा कांग्रेसले विकास योजना ल्याउन नसकेको आरोप मतदाताले लगाउने गरेको भन्दै खनालले वाम गठबन्धनको स्थिर सरकारले विकासका योजनालाई सार्थक बनाउने दाबी गरे ।
कांग्रेसका उम्मेदवार उपाध्यायले विगतमा जिल्लाको विकासका लागि कुनै पनि काम नगरेको आरोप लगाउँदै खनालले भने, “१ किलोमिटर सडक बनाएको रेकर्ड पनि छैन । जनताले यस्ता कुरा खुलेर भनेका छन् ।”
मनमोहन अधिकारीले वृद्ध भत्ता दिएको र बाबुराम भट्टराईले बाटो चौडा पारिदिएकाले जनता खुशी भएको खनालको भनाई छ । विगतमा वाम सरकारले मात्रै जनताको मन जित्न सफल भएको खनालको भनाई छ ।
केपी ओलीले चिन र भारतसँग गरेका सम्झौता र प्रचण्ड सरकारले लोडसेडिङ हटाएको उदाहरण दिदै खनालले कांग्रेसको सरकारले केही पनि उल्लेखनीय काम गर्न नसकेको आरोप लगाए ।
अबको वाम सरकारले भारतसँगको सम्बन्ध सुमधुर बनाउने खनालको भनाई छ ।




प्रतिक्रिया