विगतमा सच्चिएका प्रचण्डले अहिले बाटो विराए, लोकतन्त्रका लागि जनमत कांग्रेसतिर : शेषनाथ अधिकारी


१२ मंसिर, चितवन । नेपाली कांग्रेसका नेता शेषनाथ अधिकारीले लोकतन्त्रवादीले यसपटक वाम गठबन्धनलाई मतदान नगर्ने दाबी गरेका छन् । चितवन क्षेत्र नम्वर २ का प्रतिनिधीसभा सदस्यका उम्मेदवारसमेत रहेका अधिकारील विगतमा माओवादी अध्यक्ष प्रचण्डले आफू सच्चिएँ भन्दै जनतालाई भ्रम फैल्याएका कारण केही भोट पाए पनि अब जनता नझुक्किने दाबी गरे ।

रिपोर्टस क्लब नेपालले गरेको चुनाव लक्षित विशेष साक्षात्कार कार्यक्रममा बोल्दै अधिकारीले विगतमा कांग्रेसले बहुमत ल्याउँदा माओवादीले शसस्त्र युद्धमार्फत विकासका काम गर्न नदिएको उनले आरोप गरे ।

वाम गठबन्धनको सरकार बनेपछि अहिलेका सरकारले गरेका काम र निर्णय उल्ट्याउने चेतावनी दिएकाले पनि वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न नहुने तर्क अधिकारीले गरेका छन् । चिकित्सा शिक्षा विधेयक उल्ट्याउने खेलमा एमाले नेताहरु लागेकोप्रति सचेत गराउँदै अधिकारीले देउवा नेतृत्वको

सरकारले गरेका राम्रा काम जति सबै उल्ट्याउने वाम गठबन्धनको योजना रहेको उनको दाबी छ ।
आफ्ना प्रतिस्पर्धी कृष्णभक्त पोखरेलप्रति जनता रुष्ट भएको बताउँदै अधिकारीले एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाले समेत आफूलाई मतदान गर्ने दाबी गरे । आफूतिर मतदाताले देखाएको आकर्षणले प्रतिस्पर्धी निकै कमजोर देखिएको अधिकारीको भनाई छ ।

इमानदार नेताको रुपमा आफ्नो परिचय स्थापित भएको दाबी गर्दै अधिकारीले आफुले त्यस क्षेत्रमा विकास निर्माणका प्रशस्तै काम गरेको बताए ।
“४ वर्ष अगाडि र अहिलेको अवस्थामा टाँडी बजार धेरै परिवर्तन भएको छ । टाँडीबाट पृथ्वी राजमार्ग जोड्ने बाटो बनिरहेको छ ।” अधिकारीले उदाहरण दिए ।

क्षेत्र नम्बर १ बाट समेत कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेलाई हराउने दाबी अधिकारीले गरेका छन् ।
चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका माओवादी अध्यक्ष प्रचण्डले समेत चुनाव हार्ने जिकिर अधिकारीले गरे । भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डपुत्री रेणु दाहाललाई कांग्रेसले जिताएको स्मरण गराउँदै अधिकारीले यस पटक प्रचण्डले चुनाव जित्न नसक्ने बताए ।