महतको दाबी : अबको प्रधानमन्त्री ओली, पार्टी अध्यक्ष प्रचण्ड


‘मेरो जित सुनिश्चित छ, घोषणा गर्नमात्रै बाँकी छ’
नवलपरासी, १३ मंसिर । नवलपुर क्षेत्र नम्बर २ का लागि वाम गठबन्धनका उम्मेद्धवार तिलक महतले आफूले खसेको मतको ६५ प्रतिशत मत ल्याएर चुनाव जित्ने दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै उनले आफ्नो विजयी सुनिश्चित भैसकेकोले नतिजा आउन मात्रै बाँकी रहेको बताएका हुन् । उनले थपे,‘यो क्षेत्रमा म चुनाव जित्दैछु, हाम्रो वामगठबन्धनका सबै उम्मेद्धवार विजयी हुन्छौं, यसमा कुनै दुईमत छैन।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले उक्त क्षेत्रमा अरु कसैले जित्नको लागि आँट नगरे हुने समेत जिकिर गरे । उनले भने,‘तिलक महतले बाजी मार्छ, यो वामपन्थीहरुको ठाउँ, ३५ वर्षदेखि जनताको बीचमा झोला बोकेर हिँड्ने कार्यकर्ता हुँ म, यहाँको जिल्लाको लागि मैले धेरै काम गरेको छु। धेरै भन्दा धेरै जनताले मलाई रुचाएका छन् ।’

उनका प्रतिष्पर्धी एवम् कांग्रेस नेता विष्णु कार्कीलाई स्वयम कांग्रेसका नेता तथा कार्यकर्ताहरुले नरुचाएको महतको आरोप थियो । उनले थपे,‘पूराना कांग्रेसी नेताहरुले पनि उनलाई मन पराउँदैनन्। काँग्रेसका उम्मेद्धवार कार्की अरुले बजाएको बाजामा नाँच्नुभएको छ। स्थानीय तहको परिणाम हिसाबकिताब गर्यो भने कांग्रेस राष्ट्रिय राजनीतिमा हार्छ ।’

उनले मुलुकैभरि वाम गठबन्धनले विकास गर्न सक्ने बताउँदै भने,‘हामी अब समृद्धिशाली नवलपुर बनाउँछौं । २२ वर्ष कांग्रसको नेतृत्वमा सरकार चल्यो, उद्योग कलकारखा सबै कौडीको भाउमा बेच्यो, त्यतिमात्रै नभएर राष्ट्रघाती सन्धि गर्यो, देश कमजोर बनायो।’

महतले नवलपुरमा जे जति विकास भएका छन् ती सबै आफूहरुको कारणले संभव भएको समेत जिकिर गरे । उनले भने,‘यो क्षेत्रमा कांग्रेसले केही गरेकै छैन, म चुनाव लडेको क्षेत्रमा धेरै विकास भएको छ। धेरै किलोमिटर बाटोहरु बनेका छन्, कतिपय पीच समेत भएका छन्।’

यद्धपी उनले जनताले चाहेजसरी विकास निर्माणका कामहरुले गति लिन नसकेको स्विकार गरे । ‘डाडु पिन्यु अब हाम्रै हातमा आउँदैछ, हिजो पो कांग्रेसको हातमा थियो, नेपालको ईतिहाँसमा पहिलोपटक वामपन्थीहरुले बहुमतको मात्रै नभएर दुई तिहाईको सरकार बनाउँदैछन्, त्यसैले अब विकासका लहर आउँछन् ।’

उनले उक्त क्षेत्रका जनताहरुले मात्रै नभएर स्वयम् सक्रिय कांग्रेसी नेता तथा कार्यकर्ताहरुले आफूलाई भोट दिने वाचा गरेको सुनाए ।

महतले भने,‘हुन त अहिले यहाँ झण्डा बाँड्ने अभियान चलेको छ, सबै कुरा होईन, तर कार्कीले एक घर एक झण्डा बाँड्ने काम गरेका छन । नवलपुरको यो निर्वाचन क्षेत्रमा मैले आचारसंहिता उल्लंघन गरेको छैन, हामी त जनताको वीचमा जान्छौं । गएका छौं । म त जनताको मनमा बसेको मान्छे हो।’

मुलुकमा जति बेला कम्युनिष्टहरुले सरकार बनाए ती सबै बेला धेरै राम्रा र लोकप्रिय कामहरु भएको समेत उनको भनाई थियो । अब बन्ने सरकारले जनताका सबै समस्याहरुको समाधान गरेर मुलुकलाई समृद्धिको यात्रामा डोर्याउने उनले स्पष्ट पारे ।

त्यस्तै उक्त क्षेत्रमा रहेका सबै खाले समस्याहरुको हल गर्न आफूले कुनै कसर बाँकी नराख्ने समेत महतले स्पष्ट पारे । उनले भने,‘यातायातको समस्या हल गर्छु, कृषिलाई अधाुनकिरण गर्दै अघि बढाउँछु, नदि कटानका समस्याको चाँडै हल गर्छौं, त्यस्तै शिक्षा, स्वास्थ्य र खानेपानीको समस्या हल गर्छु, यी सबै समस्या म समाधान गर्छु । हो, हामी त्यही काम गर्छौं ।’

त्यस्तै उनले वामपन्थीहरुको सरकारले अब किसानहरुलाई सबसीडि दिनेपनि जनाए । उनले भने,‘मल खाद्य सबैमा पुर्याउँछौं, नदि कटानको समस्या पनि समाधान हुन्छ, हाम्रो पार्टीले विगतमा बहुमतको सरकार बनाउन सकेन, अब बन्दैछ । सबै काम हामी गर्छौं।’ आफ्नो पार्टीका अध्यक्ष केपी ओलीको सरकारको पालामा जनताका हितमा धेरै काम भएको उल्लेख गर्दै उनले भने अब बन्ने सरकारले पूर्णतयः जनताको पक्षमा काम गर्ने बताए ।

उनले कम्युनिष्टहरुको सरकार बन्यो भने कोही पनि जनता रुनु नपर्ने जिकिर गरे। महतले भने,‘जनताको पक्षमा काम गर्छौं। प्रजातन्त्रको पक्ष्ँमा हामी लडेका छौं । कांग्रेसले आफूलाई प्रजातन्त्रवादी भनेपनि समजवादी भनेपनि उसले ती सिद्धान्तलाई प्रयोग गरेको छैन् । संसदीय व्यवस्थालाई हामी प्रयोग गरिरहेका छौं । हामी संसदीय व्यवस्था अन्र्तगत आगामी २५ वर्षभित्र आर्थिक समृद्ध बनाउँछौं ।’

उनले संसारका कम्युनिष्टहरु पतन नभएर समाजवादको बाटोमा गएका पनि तर्क गरे । उनले भने,‘नेपालका कम्युनिष्टहरु दरबारसँग कहिल्यै नजिक भएनन् । हामी समाजवादउन्मुख बाटोमा जान्छौं । अहिले हामी समाजवादमा जाँदैछौं ।’

त्यस्तै उनले निर्वाचनपछि बन्ने सरकारको नेतृत्व केपी ओलीले गर्ने समेत उद्धघोष गरे । उनले भने,‘अबको प्रधानमन्त्री केपी ओली नै हो, प्रचण्ड एउटा कार्यकारी हुनुहुन्छ । एउटा पार्टी अध्यक्ष एउटा प्रधानमन्त्री बन्नुहुन्छ ।’ निर्वाचनपछि उनले एमाले र माओवादी केन्द्रवीच पार्टी एकता हुने समेत उनको दाबी थियो ।