Logo

प्रधानमन्त्री देउवाद्वारा चौधरीको निधनप्रति दुःख व्यक्त



काठमाडौँ, १३ मंसिर (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले बम विस्फोटनमा परी म्यादी प्रहरी विनोद चौधरीको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत दिवंगत म्यादी प्रहरी चौधरीको आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको परिवारजनामा समवेदना प्रकट गर्नु भएको छ । साथै उहाँले घट्नाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

दाङको तुल्सीपुर उपमहानगरपालिका–ं५ स्थित अरनिको मैदानमा प्रधानमन्त्री देउवाको उपस्थितिमा भएको नेपाली काँग्रेसको चुनावी सभालाई लक्ष्य गरी गराइएको बम विस्फोटनमा परी घाइते हुनुभएका २३ वर्षीय म्यादी प्रहरी चौधरीको उपचारका क्रममा आज बाँकेको कोहलपुरमा निधन भएको हो ।

प्रधानमन्त्री देउवाले संवैधानिक संक्रमणको अन्त्य गर्दै संघीय गणतान्त्रिक लोकतन्त्रलाई संस्थागत गर्ने सिलसिलामा हुनगइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको सुरक्षाको लागि खटिइ महत्वपूर्ण जिम्मेवारी वहन गर्ने सम्पूर्ण सुरक्षाकर्मीलगायत म्यादी प्रहरी प्रशंसाका पात्र भएको उल्लेख गर्नुभएको छ ।

“यस्ता घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ । यस प्रकारका निर्वाचन विरोधी कुनै पनि गतिविधिले निर्वाचनप्रति नेपाली नागरिकले देखाएको उत्साह र नागरिकको मताधिकारलाई कुण्ठित पार्न सक्दैन” विज्ञप्तिमा उल्लेख छ ।

उहाँले कायरतापूर्ण तवरले बिना हतियार सुरक्षार्थ उभिएका म्यादी प्रहरी र नागरिकमाथि बम प्रहार गरिएको यस घटनालगायत निर्वाचन लक्षित सम्पूर्ण हिंसात्मक क्रियाकलापको घोर भत्र्सना गर्नुभएको छ ।

सरकारले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आम नागरिकलाई निर्वाचनमा निर्धक्क भएर लाग्न हार्दिक आह्वान गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्