मतदाता शिक्षाको इलेक्सन क्विजमा प्रश्न- ‘गगन थापा र विश्वप्रकाश शर्मा कुन–कुन क्षेत्रका उम्मेदवार हुन्?’ राजेश हमाललाई कारबाहीको माग


१७ मंसिर, काठमाण्डौ । नेकपा एमालेले निर्वाचन आयोगकी आयुक्त इला शर्मा र अभिनेता राजेश हमालले मतदाता शिक्षामा निभाएको भूमिकामाथि प्रश्न उठाउँदै क्षमा याचना गर्न सुझाब दिएको दिएको छ ।

एमालेले निर्वाचन आयोगद्वारा विभिन्न १० वटा टेलिभिजनबाट प्रसारित मतदाता शिक्षा अन्तर्गतको ‘इलेक्सन क्विज’ कार्यक्रम मार्फत यस्तो प्रयास भएको भन्दै आपत्ति जनाएको हो ।

अभिनेता हमालले क्विजमा ‘गगन थापा र विश्वप्रकाश शर्मा कुन–कुन क्षेत्रका उम्मेदवार हुन्?’ भनी प्रश्न गरेका थिए ।

एमाले जारी गरेको विज्ञप्तिमा ‘अमुक उम्मेदवारको क्षेत्रबारे प्रश्न गर्नु उसको प्रचार गर्नु भएको’ भनिएको छ ।

‘अभिनेता राजेश हमालद्वारा प्रस्तुत गरिएको उक्त क्विजमा निर्वाचन आयोगले नेपाली कांगे्रसका उम्मेदवारको प्रचार गर्ने नियतसहित, यी दुई उम्मेदवार कहाँबाट उठेका छन्? भन्ने प्रश्न राखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सत्ताधारी दलको खास उम्मेदवारलाई निर्वाचन आयोगको उम्मेदवारका रुपमा प्रस्तुत गरिएकोमा आपत्ति जनाउँदै निष्पक्ष भनिएको निर्वाचन आयोगले कुन–कुन उम्मेदवारको पक्षमा प्रचार अभियान सञ्चालन गर्न खाजेको हो, स्पष्ट पार्न आग्रह गर्दछौं ।’

मतदाता शिक्षा कार्यक्रमका नाममा निर्वाचन आयोगले खुलेआम सत्तारुढ नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा प्रचार गरेको एमालेको आरोप छ ।

 

निर्वाचन आयोगकी आयुक्त इला शर्मा

निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमको जिम्मेवारी आयुक्त इला शर्मालाई दिएको छ । शर्मा नेपाली कांग्रेसको कोटाबाट निर्वाचन आयुक्त बनेकी हुन् । शर्माको नाम उल्लेख नगरी विज्ञप्तिमा भनिएको छ, ‘यदि त्यो प्रचार सामग्री निर्वाचन आयोगको जानकारी बेगर भएको हो र मतदाता शिक्षाको जिम्मा लिने आयुक्तको निजी निर्णयमा भएको हो भने आयोगलाई सार्वजनिक रुपमा क्षमा याचना गर्न र निज आयुक्तलाई तत्काल कारबाहीका लागि माग गर्दछौं ।’