विक्रम पाण्डेको कालिका एफएममा प्रचण्डको समाचार प्रसारणमा रोक


१७ मंसिर, काठमाण्डौ । आफ्नै हात जगन्नाथ अर्थात अधिकार भएपछि जे गरे पनि भयो । त्यस्तै मौका मिलेको छ अहिले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका विक्रम पाण्डेलाई ।

नेपाली कांग्रेसकोसमेत समर्थनमा उम्मेदवार बनेका पाण्डेका प्रतिस्पर्धी हुन्, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ।
यि दुई उम्मेदवारबिचको भिडन्तलाई निकै चासोका साथ हेरिएको छ । दुवै उम्मेदवार आफूलाई योग्य सावित गराउनका लागि विपक्षीमाथि कडा प्रहार गर्दै आएका छन् ।

कडा प्रहार भन्नाले अन्यथा नबुझ्नुहोला, शाब्दिक कटाक्ष भन्न खोजिएको हो ।
अब खास कुरा, अर्थात आफ्नै हात जगन्नाथ । विक्रम पाण्डे नेता मात्रै होइनन्, निर्माण व्यवसायी र संचार उद्यमी पनि हुन् । उनले चितवनको भरतपुरमा कालिका एफएम सफल रुपमा संचालन गरेका छन् । अहिले चुनावका बेला उनले आफ्नो एफएममा प्रतिस्पधी दाहालसँग सम्बन्धित समाचार प्रशारमा बन्देज लगाएका छन् ।

राष्ट्रिय नेता मात्र नभै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डको समाचार अन्य मिडियाले खोजीखोजी प्रशारण प्रकाशन गरिरहेका बेला मध्यपश्चितमकै उत्कृष्ट भनिने कालिका एफएमबाट भने प्रचण्डको समाचार बजाइएको छैन ।

प्रचण्डका चुनावी प्रतिरुपर्धी विक्रम पाण्डेको लगानीमा सञ्चालन भएको उक्त एफएमले एक हप्तादेखि प्रचण्डको समाचार नबजाएको बताइएको छ ।
आफ्नो चुनावी प्रतिस्पर्धी भएकै कारण पाण्डेले प्रचण्डको समाचार प्रशारणमा रोक लागाएको अनुमान गर्न गाह्रो छैन ।
कालिका एफएम समाचारमुलक कार्यक्रमका लागि त्यस क्षेत्रमा रुचाइएको संचार माध्यम हो ।