१८ मंसिर, काठमाण्डौ । कैलाली क्षेत्र नम्बर ५ का कांग्रेसका पुराना नेता पुष्करनाथ ओझा आरजु देउवाविरुद्ध लागेका छन् । कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी आरजुप्रति असन्तुष्ट हुँदै ओझाले साथ छोडेपछि वाम गठबन्धनका उम्मेदवार नारदमुनी राना उत्साहित बनेका छन् ।
कांग्रेसबाट निवर्तमान सांसदसमेत रहेका पुष्करनाथ ओझा आरजुको पक्षमा गरिएका विभिन्न प्रचारमा पनि देखिएका थिएनन् ।
तर अहिले भने ओझाले मुख खोलेरै आरजुलाई साथ दिन नसक्ने बताएका छन् । ओझाले आफ्नो समर्थन त्यस क्षेत्रबाट उम्मेदवार बनेका विवेकशील साझा पार्टीका नेतालाई गर्ने बताएका छन् ।
सोमबार बिहान धनगढीस्थित घरमा पत्रकार सम्मेलन आयोजना गरेकी प्रधानमन्त्री देउवा पत्नी तथा उम्मेदवार आरजु राणाले जिते पनि हारे पनि केही छैन, यहाँको विकासमा जुट्नेछु भनेर अभिव्यक्ति दिएकी थिइन् । ओझाले साथ छोडपछि मनोबल कमजोर भएकाले जितेपनि हारेपनिसहितको वाक्य प्रयोग गरेको अनुमान कतिपयले गरेका छन् ।
त्यसो त, प्रधानमन्त्री शेरबहादुर देउवा पनि पाँच दिनदेखि धनगढीमै बास बसिरहेका छन् । र, साँझबिहान पत्नीको क्षेत्रका मतदाता र नेतारकार्यकर्तासँग भेटेर चुनाव जिताउन आग्रह गर्दै आएका छन् ।
देउवाले ओझालाई मनाउनसमेत धेरै प्रयास गरेका थिए । तर ओझाले देउवाको कुरा मानेनन् ।
यता आरजुले भने आफ्नो अनुहार मन नपरेपनि भोट भने कांग्रेसकै चुनाव चिन्ह रुखमा हाल्न ओझालाई आग्रह गरेकी छिन् ।
आफूसँग विश्वासमा नलिई गरिएको उम्मेदवारी चयन गरिएको भन्दै ओझा शुरुदेखि नै असन्तुष्ट थिए ।
स्थानीयवासीका अनुसार ओझाले आफ्नो पकेटको करिब ३५ सय मत प्रभावित पार्ने हैसियत राख्छन् ।
विवेकशील साझा पार्टीबाट सोही क्षेत्रमा उम्मेदवारी दिएका दिनेश भण्डारी पनि पूर्वकांग्रेस समर्थक हुन् । ओझाले पनि भण्डारीलाई नै समर्थन गरेको बताइएको छ ।
विवेकशीलका भण्डारीले चार हजारभन्दा बढी मत ल्याए भने आरजुले हार्ने निश्चित भएको बताइन्छ ।
अर्कोतिर कांग्रेसभित्र किचलो चर्किंदा राना थारुको मत एमाले उम्मेदवार नारदमुनि रानातिर जाने जोखिम देखिएको छ ।




प्रतिक्रिया