संविधानको रक्षा र मुलुक बचाउन लोकतान्त्रिक शक्तिको जित आवश्यक : मन्त्री सुनिल थापा


धनकुटा, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री सुनिलबहादुर थापाले संविधानको रक्षाका लागि पनि आगामी मंसिर २१ मा हुने निर्वाचनमा लोकतान्त्रिक शक्तिले जित्नुपर्ने दावी गरेका छन् ।

धनकुटा प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका थापाले वाम गठबन्धनले नेपालमा एकाधिकार र तानाशाही शासन लागू गर्न खोजेकाले पनि संविधानको रक्षा र मुलुकलाई बचाउन लोकतान्त्रिक शक्तिले जित्नैपर्ने दवाव रहेको बताए । धनकुटाको पाख्रिवास नगरपालिकाका आयोजना भएको लोकतान्त्रिक गठबन्धनको सोमबार भएको अन्तिम चुनावी सभामा महामन्त्री थापाले समग्र धनकुटाको विकासमा लागि त झनै लोकतान्त्रिक शक्तिको जित अनिवार्य रहेको बताए ।

‘धनकुटामा वाम गठबन्धनका मित्रहरुले बडो ठूलठुला कुरा गरे तर काम भने सिन्कोसमेत भाँचेनन्’ उद्योग मन्त्रीसमेत रहेका थापाले भने ‘जिल्लाको विकासमा भाँजो हाल्नेलाई जनताले पराजित गरेर देखाइदिने छन् ।’ विभिन्न क्षेत्रमा भएको चुनावीसभा सम्पन्न गरेर बल्ल आफ्नो गृह नगरमा भएको चुनावी सभामा पुगेका थापाले धनकुटाको पहिचान पहिलेकै अवस्थामा फर्काउन आफुलाई विजयी गराउन आग्रह गरे ।

‘मैले घरेलु विभागबाट बिनाधितो उद्योग सञ्चालन गर्न ५ लाख रुपैया ऋण उपलब्ध गराउने प्रबन्ध मिलाएको छ’ मन्त्री थापाले भने, ‘यो काम कसैले गरेका छैनन्, म मन्त्री भए पनि पहिलोपटक यो कार्यक्रम लागू गर्न सफल भएको छु ।’ उनले आफुले पाख्रिवासलाई गाउँपालिकामा झार्न एमालेले प्रयास गरेको दावी गरे । तर लोकतान्त्रिक शक्तिको प्रयासमा मात्रै नगरपालिका बन्न सकेको उनले आमसभामा जानकारी दिए ।

सो चुनावी सभामा राप्रपा प्रजातान्त्रिकका प्रबक्ता राजेन्द्र गुरुङ, १ नम्बर प्रदेश सभाका लोकतान्त्रिक गठबन्धनका कांग्रेस उम्मेदवार मनोहरनारायण श्रेष्ठ, २ नम्बर प्रदेशसभाका उम्मेदवार अर्जुन थापा, संघीय समाजवादी फोरमका बरिष्ठ नेता रकम चेम्जोङ, नेपाली कांग्रेसमा महासमिति सदस्य अजितनारायण सिंह थापा, आनन्दसन्तोषी राई, नेपाली कांग्रेस धनकुटाका जिल्ला अध्यक्ष अग्नीप्र्रसाद पौडेल, राष्ट्रिय प्र्रजातन्त्र पार्टी (पजातान्त्रिक) धनकुटाका अध्यक्ष कुमारबहादुर थापा, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष बलबहादुर राई, समानुपातिक उम्मेदवार कमोड फागो, पार्वती राई लगायतले धनकुटाको विकास र धनकुटालाई प्रदेशको राजधानी बनाउन लोकतान्त्रिक शक्तिलाई विजयी गराउन आग्रह गरे ।
३ सयले एमाले त्यागे

लोकतान्त्रिक गठबन्धनका चुनाव प्रचारप्रसार समितिका संयोजक कृष्ण थापाको सभापतित्वमा भएको सो चुनावी सभामा नेकपा एमालेका झण्डै ३ सय कार्यकर्ता लोकतान्त्रिक गठबन्धनका प्रवेश गरेका थिए ।

लोकतान्त्रिक गठबन्धनका प्रवेश गर्नेहरुले एमालेले हैकमवादी शाषण चलाउन खोजेकाले लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेको बताएका छन् ।