Logo

निर्वाचन आयोगले भन्यो : भोलि हुने निर्वाचनको तयारी पुरा, ढुक्क भएर मतदान गर्नुहोस, ७५ प्रतिशतभन्दा माथि मत खस्ने



काठमाडौं, २० मंसिर । भोलि हने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले मतदाताहरुलाई आग्रह गरेको छ ।

दोस्रो चरण अन्र्तगर्त ४५ जिल्लाका प्रतिनिधिसभाका १२८ प्रदेशसभाका २५६ क्षेत्रमा भोलि हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको हो ।

बुधबार आयोग परिसरमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएको हो । मतदाता तर्साउनका लागि चुनाव बिरोधी गतिबिधि भइरहेको भएपनि सुरक्षा बन्दोबस्त गरिएकोले ढुक्क भएर मतदान गर्न जान आयोगले अपील गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भने,एकाध घटनाबाट नडराई संविधानको कार्यान्वयन र सङ्क्रमण कालको अन्त्य गर्न निर्भिकतापूर्वक मतदान गर्न मतदाताहरूमा आयोग हार्दिक अनुरोध गर्दछु।

यो निर्वाचनमा चार हजार ४ सय ८२ उम्मेदवारवीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भोलि हुँँदैछ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सबै व्यवस्थापकीय कार्य पूरा भएको जनाएको छ ।

आयोगको हातामा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले भोलि बिहान ७ः०० देखि ५ः०० बजेसम्म निर्धक्क भई मतदान गर्न आम मतदातालाई आह्वान गर्नुभयो ।

भोलि ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशभसभा २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन गइरहेको छ । ती निर्वाचन क्षेत्र राखिएका सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नेछन् ।

पहिलो चरणको निर्वाचन मंसिर १० मा सम्पन्न भइसकेको छ । पहिलो चरणको निर्वाचनमा करिब ६५ प्रतिशत खसेको थियो । “भोलि ७५ प्रतिशतभन्दा माथि मत खस्ने आयोगले प्रारम्भिक अनुमान लगाएको छ” – पत्रकार सम्मेलनमा प्रमुख आयुक्त डा यादवले भन्नुभयो ।

पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि दुई हजार ८१९ उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका आयोगले जनाएको छ ।

यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार निर्वाचनमा होमिएका छन् ।

डा यादवले निर्वाचन आचारसंहिता पालन गरी असल राजनीतिक संस्कारको विकासमा योगदान दिन राजनीतिक दल र तिनका उम्मेदवारलाई पनि आह्वान गर्नुभयो ।

मतदान गर्न जाँदा कारणवश मतदाता परिचयपत्र छुटेमा वा नष्ट भएमा त्यस्ता मतदाताको मताधिकार सुनिश्चित गरेको जानकारी पनि उहाँले दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले आयोगले अनुमति प्रदान गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकबाट निर्वाचन आचारसंहिता र नेपालको कानून पालना हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यस निर्वाचनबाट संविधान कार्यान्वयनमा गई संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुनेछ । त्यसैले यो निर्वाचन अन्य निर्वाचनभन्दा महत्वपूर्ण छ ।”

उहाँले मतदाताले प्रदान गरेका मतलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयसम्म सुरक्षितरुपमा पु¥याउन राजनीतिक दल र तिनका उम्मेदवारलाई सहयोग गर्न आग्रहसमेत गर्नुभयो ।

“जनताको मत लोकतन्त्रको आधार भएकाले मतदाताले स्वतन्त्र र विवेकपूर्णरुपमा मतदान गर्नुपर्छ,” प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो ।

नेपालको संविधानले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबाट आदिवासी जनजाति, खस, आर्य, थारु, दलित, मधेशी, मुस्लिम, अल्पसंख्यक, अपांगता भएकालाई समावेशी समानुपातिक सिद्धान्तका आधारमा नेतृत्वमा पु¥याउने अधिकार सुनिश्चित गरेको बताउँदै उहाँले समृद्ध नेपाल बनाउने यात्रामा समाहित हुन सबैलाई अनुरोध गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्