Logo

गोरखामा मुसाले मतपत्र काटेको आशंका, मुसाले खाएको मतपत्र गन्ने सहमति



२१ मंसिर, गोरखा । गोरखामा आज साँझ ५ बजेदेखि मतगणना सुरु हुने भएको छ । गत मंसिर १० गते नै चुनाव भइसकेको गोरखामा मतगणनाको सबै तयारी पूरा भएको छ । प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनको मतगणना गोरखामा विहीबार पाँच बजेबाट शुरु गर्ने विषयमा सर्वदलीय बैठकले सहमति गरेको हो ।
बैठकले मतगणनाका क्रममा केही समस्या आए कसरी समाधान गर्ने भन्ने विषयमा पनि सहमति गरेको छ ।

मतगणना सम्बन्धी तयारीका लागि बसेको सर्वदलिय र सर्वपक्षीय बैठकमा मतगणना प्रक्रिया सम्बन्धी भएको छलफलमा कुनै कारणबाट मतपेटिका मुसाले खाएको रहेछ भने मतपेटिकालाई साबुदै मानि गणना प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । साथै मतपेटिका भित्र रहेका मतपत्र समेत मुसाले खाएको रहेछ भने पनि चिन्ह रहेको कोठा स्पष्ट छ र त्यसमा स्वस्तिक छाप स्पष्ट देखिन्छ र मतपत्र बदर हुने अवस्थाको छैन भने त्यसलाई सदरै माथि मतपत्र गणना गर्ने भनि निर्णय भएको हो ।

१० दिनसम्म कोठामा थन्क्याएर राख्दा मतपेटिका तथा मतपत्रमा मुसाले क्षति पु¥याएको हुन सक्ने आशंकामा पहिले नै यससम्बन्धमा सहमति गरिएको हो ।

गोरखामा बुधबार भएको छलफलमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, राजनैतिक पार्टीका प्रमुख तथा प्रतिनिधि, उम्मेदवारहरु, पत्रकार, नागरिक समाज, सुरक्षा निकायका प्रमुखहरु वीच भएको सर्वदलिय तथा सर्वपक्षीय छलफलमा मतगणना व्यवस्थित गर्ने सम्बन्धमा १० बुँदा र मतगणना प्रक्रिया सम्बन्धमा १० बुँदामा सहमति जुटेको हो ।



प्रतिक्रिया दिनुहोस्