Logo

४५ जिल्लामा आज निर्वाचन, मतदाता ब्यग्र प्रतिक्षामा



काठमाडौं २१ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन बिहीबार ४५ जिल्लाका निर्वाचन क्षेत्रहरुमा हुँदैछ । दोस्रो चरणमा प्रतिनिधिसभाको १ सय २८ र प्रदेशसभाको २ सय ५६ सिटका लागि मतदान हुन लागेको हो । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ । दोस्रो चरणको मतदान सकिएपछि बिहीबारबाटै पहिलो र दोस्रो चरणको मतगणना प्रारम्भ हुनेछ । पहिलो चरणमा हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो । यतिबेला तराईका सबै र पहाडका जिल्लाहरुमा मतदान हुन लागेको छ । प्रमुख दलका अधिकांश शीर्ष नेताहरु दोस्रो चरणकै चुनावमा प्रतिस्पर्धी छन् ।

संविधानले व्यवस्था गरेअनुसार केन्द्रीय संसद र सातवटै प्रदेश संसदको गठन मिश्रित निर्वाचन प्रणालीबाट हुन लागेको हो । प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्यमा १ सय ६५ जना पहिलो हुने निर्वाचित प्रणालीबाट र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन् । प्रदेशसभातर्फ सबै प्रदेशको गरी प्रत्यक्षबाट ३ सय ३० र समानुपातिकबाट २ सय २० जना सदस्य निर्वाचित हुनेछन् । जनसंख्याको अनुपातमा प्रदेशपिच्छे प्रदेशसभामा सदस्यसंख्या फरक छन् । दुवै सभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मतदान सँगै हुने हो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरण निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र सुरक्षा व्यवस्था पनि सुदृढ रहेको बताएका छन् । देशका विभिन्न भागमा निर्वाचनलाई बाधा पुर्‍याउने प्रयत्न स्वरुप केही विष्फोटका घटनाहरु भएपछि सुरक्षा सतर्कता बढाइएको छ । ‘एकाध घटनाहरुबाट नडराई निर्भीकतापूर्वक मतदान गर्न मतदाताहरुलाई आयोग हार्दिक अनुरोध गर्दछ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा यादवले भने ‘नेपाल सरकारले सुरक्षाको पूर्ण व्यवस्था गरेकोप्रति आयोग विश्वस्त छ ।’

प्रतिनिधिसभाको निर्वाचन विगतमा पटकपटक भए पनि संविधानले व्यवस्था गरेको संघीय संरचना अनुसार प्रदेशसभाहरुको निर्वाचन भने मुलुकमा पहिलो पटक हुन लागेको हो । निर्वाचनपछि ७ वटा प्रदेशसमा प्रदेश सरकार समेत गठन हुनेछ । दुईवर्ष अगाडि संविधान जारी भएपछि पहिलो पटक संघीय संरचना अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको छ । ०७२ असोज ३ मा संविधानसभाले जारी गरेको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ (केन्द्र), प्रदेश र स्थानीय गरी तीन तहको रहने उल्लेख छ । त्यस अनुसार पुन: संरचनापछिको ७ सय ५३ वटा स्थानीय तहमा यसै वर्ष चुनाव सम्पन्न भएर जनप्रतिनिधि बहाल भइसकेका छन् । बाँकी दुईवटा तहको चुनाव एकै साथ तर दुई चरणमा भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्