Logo

काठमाडौँका चर्चित नेताले गरे मतदान



काठमाडौँ, २१ मंसिर  : आज बिहान ७ बजेदेखि शुरू भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ जिल्लाका स्थानीयबासी नेताले विभिन्न मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले बिहान ८ बजेर ५ मिनेटमा स्काइलार्क स्कुल धापासीबाट मतदान गर्नुभयो । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पकनाजोलस्थित नेपाल युवक माविबाट ८ः४० मा मतदान गर्नुभएको छ ।

एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले इचङ्गु पञ्चधारा मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । रक्षामन्त्री भीमसेनदास प्रधानले बिहान ७ः३० मा कामपा—२७ वडाअन्तर्गत ज्याठाको छुस्याबहाल मतदान केन्द्रबाट मतदान गर्नुभयो ।

त्यसैगरी, नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रमा बिहान ८ः३० मा मतदान गर्नुभयो ।

त्यस्तै, काठमाडौँ क्षेत्र नं ८ का उम्मेदवार नवीन्द्रराज जोशीले ढोकाटोलमा रहेको अरुणोदय मावि मा मतदान गर्नुहुनेछ । काठमाडौँ क्षेत्र नं ९ का उम्मेदवार ध्यानगोविन्द रञ्जितले काठमाडौँ महानगरपालिकामा रहेको जैशीदेवलको मतदान केन्द्रमा गएर मतदान गर्नुहुने भएको छ ।

एमालेका युवा नेता डा राजन भट्टराईले काठमाडौँ क्षेत्र नं ४ मा पशुपति बहुमूखी क्याम्पस, चावहिल केन्द्रबाट तथा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ललितपुरको भैँसेपाटीस्थित महिलाघर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

संघीय समाजवादी फोरम नेपालका सहसअध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाः राष्ट्रिय मावि, ढल्को, छत्रपाटी मतदान केन्द्रबाट मतदान गर्नुभयो । उहाँ काठमाडौँ क्षेत्र नं ७ को समानुपातिक उम्मेदवार हुनुहुन्छ ।

यस्तै, काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभाका उम्मेदवार राजन केसीले भने काठमाडौँ क्षेत्र नं ८ मा रहेको सोल्टीमोड मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

युवा तथा खेलकुद मन्त्री समेत रहनुभएका केसीको पुख्र्यौली घर चोभारमा भए पनि उहाँको मतदाता नामावली भने काठमाडौँ क्षेत्र नं ८ मा रहेको छ ।

त्यस्तै, काठमाडौँ क्षेत्र नं १० का वाम गठबन्धनका उम्मेदवार हितमान शाक्यले काठमाडौँ क्षेत्र नं ९ मा रहेको चन्द्रागिरी नगरपालिका–९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्