Logo

प्रचण्डका प्रतिष्पर्धी पाण्डे भन्छन् : काँग्रेस शीर्ष नेताको आशीर्वाद लिएर मतदान गरें



चितवन, २१ मंसिर : वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले नेपाली काँग्रेसका सभापतिसहितका शीर्ष नेताको टेलिफोनमा आशीर्वाद लिएर मतदान गरेको बताउनुभएको छ ।

भरतपुर महानगरपालिका–२७ स्थिर जानकी उच्च मावि मतदान केन्द्रबाट मतदानपछि आज प्रतिक्रिया दिँदै उहाँले आफू यस क्षेत्रबाट नेपाली काँग्रेसको समर्थनमा उम्मेदवार भएकाले काँग्रेस नेताको आशीर्वाद लिएर मतदान गरेको बताउनुभयो ।

चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएका पाण्डे राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । उहाँले काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालासँग टेलिफोनमा आशीर्वाद लिएर मतदान गरेको बताउनुभयो ।

उहाँले राप्रपा, काँग्रेससँगै नेकपा (एमाले) र माओवादीकै मत पनि आफूलाई आउने दाबी गर्नुभयो ।

उहाँसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मन्त्री पाण्डेले आजको यो क्षण ऐतिहासिक भएको भन्दै आम जनतालाई आफ्नो अधिकार निर्धक्क भएर प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले कसैको लोभलालचमा नपरी आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न पनि आह्वान गर्नुभयो ।

सरकार निष्पक्ष, धाँधलीरहित निर्वाचन गर्न प्रतिबद्ध रहेको भन्दै मन्त्री पाण्डेले आम जनताको साथ र समर्थनबाट निर्वाचन सफल हुने बताउनुभयो । उत्सवको रुपमा मतदानमा सबै सहभागी हुन उहाँले आमाबुबा, दाजुभाइ, दिदीबहिनीमा आग्रह गर्नुभयो ।

आफ्नो जित सुनिश्चित भइसकेको दाबी गर्दै उहाँले घोषणाको प्रक्रिया मात्रै बाँकी रहेको बताउनुभयो ।  (रासस)



प्रतिक्रिया दिनुहोस्