Logo

निर्वाचन मतपरिणामको रुझानमा बाम गठबन्धन उत्साहित, कांग्रेस निराश –यस्तो छ दुवै गठबन्धनका नेताहरुको दाबी



काठमाडौं, २१ मंसिर । पहिलो चरणमा चुनाव भएका ३२ जिल्ला ३७ निर्वाचन क्षेत्रमध्ये ३३ मा मतगणना जारी छ। पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभा सदस्यका लागि धेरै ठाउँमा एमाले उम्मेदवार अगाडि छन्। एमाले उम्मेदवार १५ स्थानमा अग्रता लिइहेका छन् भने माओवादी उम्मेदवार १० ठाउँमा अगाडि छन्।

मतपरिणामको सूरुवाती रुझानबाट वाम गठबन्धन निकै उत्साहित भएको छ भने नेपाली कांग्रेस निराश देखिएको छ । मतपरिणाम धमाधम सार्वजनिक भैरहेको छ । नेपाली रेडियो नेटवर्कको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै एमाले नेता केशब बडालले आफूहरुको बहुमत आउने दाबी गर्दै अब वामपन्थीहरुको सरकार बन्ने बताए ।

तर कांग्रेस नेता मिन विश्वकर्माले भने अहिले नै कसको बहुमत आउने भनेर ठोकुवा गर्ने अवस्था नभएको भन्दै निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि कांग्रेसले नै बहुमत ल्याउने दाबी गरे । यद्धपी उनले आफूहरुको बहुमत नआएपनि सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने विश्वास दिलाए ।

कांग्रेस उम्मेदवारहरु संखुवासभा, रसुवा, बझाङ, नुवाकोट १ र धादिङ २ मा अगाडि छन्। गोरखा २ मा कांग्रेस समर्थित नयाँशक्तिका बाबुराम भट्टराई र सिन्धपाल्चोक २ मा राप्रपाका पशुपतिशमशेर राणा अगाडि छन्।

हुम्लामा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन्।



प्रतिक्रिया दिनुहोस्