Logo

प्रतिनिधिसभामा एमाले २ र माओवादी केन्द १ स्थानमा विजयी, कांग्रेसले अझै खाता खोल्न सकेन



काठमाडौं, २२ मंसिर । मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन भएका हिमाली तथा उच्च पहाडी जिल्लाको मत परिणाम सार्वजनिक हुन थालेको छ ।

अहिलेसम्म प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दुई जना विजयी भएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका एक जना विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन निर्वाचित भएका छन् । तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मत प्राप्त गरे ।

मनाङमा पनि प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पाल्देन छोपाङ गुरुङ निर्वाचित भएका छन् । उनले २ हजार ३ सय मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २ हजार २१ मत प्राप्त गरे ।

यसैगरी रुकुम पूर्वको प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रकी कमला रोका विजयी भएका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरे ।

अहिलेसम्म जारी मत गणनामा अधिकांश स्थानमा वामगठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवारले १६ स्थानमा अग्रता लिएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले १३ स्थानमा अग्रता लिएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवारले ५ स्थानमा अग्रता लिएका छन् ।

प्रदेशसभा सदस्यतर्फ पनि अधिकांश स्थानमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिइरहेका छन् । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्