Logo

प्रतिनिधिसभातर्फ अहिलेसम्म कहाँ–कसले जिते ? हेर्नुहोस सूचिसहित



काठमाडौं, मंसिर २३ । आम निर्वाचनका परिणामहरु धमाधम आइरहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो र दोस्रो चरणमा भएका मतदानका परिणामहरु आइरहेका छन् ।

अहिलेसम्म घोषित परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी सिट जितेको छ । उसले २३ स्थानमा जित हासिल गर्दा नेकपा माओवादी केन्द्रले ६ स्थानमा जित दर्ता गरेको छ ।

नेपाली कांग्रेसले भने अहिलेसम्म ५ स्थानमामात्र जित निकालेको छ । एक स्थानमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

पछिल्लो परिणामअनुसार मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका डा. मीनेन्द्र रिजाल २४,५७५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ऋषिकेश पोखरेलले २३,९२३ मत प्राप्त गरेका छन् ।

मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर–४ मा माओवादी केन्द्रका अमनलाल मोदी ३३,५२९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका महेश आचार्यलाई २६,८०० मत प्राप्त गरे ।

दोलखा प्रतिनिधिसभा सदस्यमा एमालेका पार्वत गुरुङ ५५,९५४ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रुद्रबहादुर खड्काले २५,८०१ मत प्राप्त गरे ।

पाँचथरमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बसन्तकुमार नेम्वाङ ३८,६४१ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बे २८,०२५ मत प्राप्त गरे ।

सिन्धुपाल्चोक–१ मा माओवादी केन्द्रका अग्नि सापकोटा ४०,५०४ मतसहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका मोहन बस्नेतले २९,७९८ मत पाए ।

सिन्धुपाल्चोक–२ मा एमालेका शेरबहादुर तामाङ ३८,४०१ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका पशुपतिशमशेर राणाले ३०३६९ मत पाए ।

ललितपुर क्षेत्र नम्बर–३ मा माओवादी केन्द्रकी पम्फा भुसाल २४,०३६ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका मदन अमात्यले २२,३३६ मत पाए ।

मोरङ–१ मा एमालेका घनश्याम खतिवडा ३७,५२४ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डिकबहादुर लिम्बुले ३१,४३६ मत ल्याए ।

मोरङ क्षेत्र नम्बर–३ मा एमालेका भानुभक्त ढकाल ४२,४१३ मतसहित विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सुनील शर्माले ४०५०० मत ल्याए ।

मोरङ–६ मा एमालेका लालबाबु पण्डित ३३,९४१ मत ल्याइ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका शेखर कोइरालालाई पराजित गरे । कोइरालाको ३३,२६६ मत रहेको छ ।

बाग्लुङ–१ मा एमालेका सूर्य पाठक ३३,६५७ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी चम्पादेवी खड्काको २०,६०० मत ल्याइन् ।

बाग्लुङ–२ मा माओवादी केन्द्रका देवेन्द्र पौडेल २८,८२७ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका निरज पुन १९,९०५ मत पाएर पराजित भए ।

ओखलढुंगामा एमालेका यज्ञराज सुनुवार ३२,५८० मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रामहरि खतिवडाले २७,३२७ मत ल्याए ।

रसुवामा कांग्रेसका मोहन आचार्य ११,४५३ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका जनार्दन ढकालले १०,२७८ मत पाए ।

धादिङ–१ मा भूमिप्रसाद त्रिपाठी ४९,१२१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका विश्वप्रसाद अर्यालले २१,९६८ मत ल्याए ।

धादिङ–२ मा पनि एमालेकै खेम लोहनी ३६,२५३ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिलमान पाख्रिनले ३५,६१४ मत ल्याए ।

काठमाडौं उपत्यकामा भने मिश्रित परिणाम आएको छ । घोषित ६ ओटा क्षेत्रमध्ये तीनओटामा नेकपा एमालेका उम्मेदवार तथा तीनओटामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । चारओटा क्षेत्रमा भने मतगणना जारी छ ।

काठमाडौं क्षेत्र नम्बर–१० मा नेपाली कांग्रेसका राजन केसी २०,५१३ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका हितमान शाक्यले १७,८३५ मत प्राप्त गरे ।

काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह १०,९३७ मत ल्याइ विजयी भएका छन् । उनी ८१९ मतान्तरले विजयी भएका हुन् । उनले विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई पराजित गरे । मिश्रले १०,११८ मत पाए ।

काठमाडौं–३ बाट एमालेका कृष्ण राईले १९,१६९ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी अम्बिका बस्नेतले १४,८८४ मत ल्याइन् ।

काठमाडौं–४ मा नेपाली कांग्रेसका गगनकुमार थापा २१,५५१ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले १८,१४० मत ल्याए ।

काठमाडौं–८ मा एमालेका जीवनराम श्रेष्ठ विजयी भए । श्रेष्ठले १३,३९७ मत ल्याउँदै कांग्रेसका नवीन्द्रराज जोशीलाई पराजित गरे । जोशीले १२,९५३ मत पाए ।

काठमाडौं–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २२,८५२ मत ल्याए भने उनले कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई पराजित गरे । रञ्जितले १४,८०२ मत पाए ।



प्रतिक्रिया दिनुहोस्