Logo

नवराज सिलवाल : प्रहरी निरीक्षकदेखि सांसदसम्म



सञ्चिता घिमिरे : ललितपुर, २५ मंसिर : निर्वाचनभन्दा एक महिनाअघि राजनीतिमा होमिएका पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल प्रतिनिधिसभामा ललितपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएपछि थप चर्चामा आउनुभएको छ ।

आफू प्रहरी महानिरीक्षकमा बढुवा नभएपछि सरकारको विरोधमा सर्वाेच्च अदालतको ढोका ढक्ढक्याउन पुग्नुभएका सिलवालले अदालतबाट न्याय नपाए पनि जनताबाट न्याय पाएको महसुस गर्नुभएको छ ।

सिलवालको मुद्दामा सकारात्मक देखिएको भन्ने आधारमा सत्ता पक्षले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग प्रस्ताव संसद दर्ता गराएपछि सिलवाल ‘सेलिब्रेटी’ बन्नुभएको थियो । प्रहरीमा रहँदा पनि बफादारिताका साथ काम गर्ने छवि बनाएका सिलवाल निर्वाचन पूर्व गत असोज २० मा नेकपा (एमाले) प्रवेश गरी क्षेत्र नं १ को उम्मेदवार बन्नुभएको थियो । वर्तमान अर्थराज्यमन्त्री उदयशमशेर राणालाई छ हजार २२२ मतान्तरले पराजित गरेपछि सिलवालको प्रत्यक्ष राजनीतिक यात्रा सहज देखिएको छ ।

सिलवालले २६ हजार ९५१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राणाले २० हजार ७२९ मत ल्याउनुभयो । यस क्षेत्रमा ५१ हजार २४९ मत खसेको थियो ।

दोस्रो संविधानसभा निर्वाचन २०७० राणाले एमालेका पूर्व जिल्ला अध्यक्ष मधुसूदन पौडेललाई पराजित गर्नुभएको थियो ।

साढे दुई महिना पहिलेसम्म सिलवाल नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) हुनुहुन्थ्यो । अहिले उहाँको नयाँ परिचयसँगै दैनिकी नै एकाएक परिवर्तन भएको छ ।

एमाले र नेकपा (माओवादी केन्द्र) को साझा उम्मेदवारका रुपमा उहाँ एक महिनादेखि मत माग्न जनताका घरआँगनमा पुग्नुभयो भने अहिले बधाई दिन र मतदातालाई धन्यवाद दिन व्यस्त हुनुहुन्छ ।

चुनावी प्रचारका क्रममा उहाँ जनताका घरआँगन र खेतबारीमा पुग्नुभयो । मंसिर महिना भएकाले बाली भित्र्याउन व्यस्त किसानको खेतबारीमा नै पुगेर उहाँले आफ्नो योजना सुनाउनुभएको थियो ।

एमालेबाट उम्मेदवार हुनु मतदाताका लागि नौलो भए पनि पूर्व प्रहरीका रुपमा उहाँलाई धेरैले चिन्दथे । राष्ट्रियरुपमा चर्चित व्यक्ति भएकाले उहाँलाई निर्वाचन जित्न सहज भएको निर्वाचन पहिले धेरैले अनुमान गरेका थिए । उहाँका उम्मेदवारी पार्टीको स्थायी कमिटीले लगाउँदा क्षेत्रीय कमिटीले स्वागत गर्नु उहाँका लागि जित्न सहज भइदियो ।

नवनिर्वाचित सांसद सिलवाल ५४ वर्ष पहिले जिल्लाको गोदावारीमा जन्मनुभएको हो । उहाँले प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरीे २९ वर्षसम्म कार्यरत रहनुभयो । सिलवालले प्रहरी सेवाबाट गत भदौ २७ मा राजीनामा दिनुभएको थियो । उहाँ २०४४ सालमा प्रहरी निरीक्षकबाट सेवा शुरु गर्नुभएको थियो ।

असोज २२ गते उहाँको राजीनामा स्वीकृत भएको थियो । त्यसको दुई दिन पहिले नै उहाँलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउनुभएको थियो । सिलवाल जितेमा भावी गृहमन्त्री हुन सक्ने आँकलन गरिएकाले पनि उहाँको विजय निश्चित भएको मानिएको छ ।

सिलवाल नेपाली साहित्यमा नव सिलवालका रुपमा परिचित हुनुहुन्छ । कथा, कविता, निबन्धलगायतका विधामा उहाँले कलम चलाउँदै आउनुभएको छ ।

विकासका दृष्टिले पछाडि पारिएको आफ्नो क्षेत्रको पूर्वाधारहरुको विकासमा लाग्ने उहाँले बताउँदै आउनुभएको छ । राजधानीसँगैको जिल्ला भएर पनि सडक, खानेपानी, सञ्चारको विकास यस क्षेत्रमा हुन सकेको छैन । आगामी पाँच वर्षमा पूर्वाधारको विकास, कृषिमा प्रविधि जोड्ने, शिक्षा र स्वास्थ्य सेवामा जनताको पहुँच बढाउने उहाँको प्राथमिकता छन् ।

गाउँमा नै रोजगारीको सिर्जना गरेर वैदेशिक रोजगारीमा जानेलाई रोक्ने र गएकालाई फर्काउनु उहाँको चुनावी एजेण्डा रहेका छन् । आफ्ना प्रतिबद्धता पूरा गर्ने र निर्वाचनका प्रतिस्पर्धीसँग मिलेर जाने उहाँले निर्वाचित भएपछि बताउँदै आउनुभएको छ । उहाँले भन्नुभयो, “हामी मिलेर अघि बढ्दा मात्रै यस क्षेत्रमा विकासको लहर ल्याउन सकिन्छ ।”



प्रतिक्रिया दिनुहोस्