Logo

तत्काल पार्टी नेतृत्व परिवर्तन सम्भव छैन : बालकृष्ण खाँण



‘देउवाजीले चाहानुभयो भने संसदीय दलको नेता आँफै बन्नुहुन्छ’
काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले तत्काल पार्टी नेतृत्व परिवर्तन सम्भव नभएको स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता खाँणले निर्वाचनमा पार्टीले व्यहोरेको हारको जवाफदेहिता पार्टी सभापति शेरबहादुर देउवाले मात्रै नभएर सबैले लिनुपर्ने भन्दै त्त्काल नेतृत्व परिवर्तन नहुने बताएका हुन् ।

उनले भने,‘अहिले कसैले पार्टी सभापतिको विरुद्धमा अभिव्यक्ति दिँदैमा केही हुनेवाला छैन, पार्टी नेतृत्व परिवर्तन भएन भने हस्तक्षेप गर्छु भनेको पनि सुनियो, तर यस्तो भन्ने नैतिक अधिकार उहाँलाई पनि छैन, प्रचारप्रसार समितिको संयोजक गगन थापाजी पनि हो, उहाँले पनि पार्टी पराजयको जिम्मेवारी लिनुपर्छ, यो त सामूहिक जवाफदेहिताको कुरा हो, मैले आफ्नो ठाउँबाट लिनुपर्ने जवाफदेहि म लिन्छु, अब केन्द्रिय समितिमा यो विषयमा कसैले कुरा राख्छ भने छलफल हुनसक्छ, तर नेतृत्व फेरबदल हुँदैन, बरु पार्टीलाई एकजुट भएर अघि बढाउँछौं।’

क्लबका सभापतित्व ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले विशेष महाधिवेशन बोलाएपनि नबोलाएपनि पार्टी नेतृत्व परिवर्तन नहुने ठोकुवा गरे । उनले थपे,‘विशेष महाधिवेशन बोलाएपनि नेतृत्व परिवर्तन हुँदैन, यो म अहिल्यै नै भन्छु।’ खाँणले पार्टीलाई सशक्त रुपमा अघि बढाउनको लागि बरु एकजुट भएर नेतृत्वलाई सघाउनतिर नेताहरु लाग्ने विश्वास दिलाए । महामन्त्री डा. सशांक कोइरालाले पनि सामूहिक रुपमा पराजयको जिम्मेवारी लिँदै अब पार्टीलाई पूनः स्टे«न्थ प्रदान गर्न एकजुट भएर लाग्नुपर्ने अभिव्यक्ति दिएकोले सबैको ध्यान अब एकजुट भएर अघि बढ्ने नै रहेको उनले जनाए ।

त्यस्तै उनले पार्टी सभापति देउवाले चाहे उहाँ आँफै संसदीय दलको नेता बन्ने समेत स्पष्ट पारे । ‘उहाँले चाहनुभयो भने संसदीय दलको नेता आँफै बन्नुहुन्छ–उनले थपे।’ पार्टीले निर्वाचनमा भोगेको पराजय अस्वभाविक भएको भन्दै हारको सबैले जिम्मेवारी लिनुपर्ने उनको भनाई थियो । खाँणले थपे,‘पार्टीमा कुनै मतान्तर छैन, नेतृत्व परिवर्तनको कुनै एजेण्डा नै छैन, केन्द्रिय समितिको बैठकमा छलफल भएपनि यसबारेमा कुनै बबण्डर हुँदैन।’ उनले पार्टीभित्र आफ्नो कुरा राख्ने छुट सबैमा भएको समेत स्पष्ट पारे ।

उनले पार्टी सभापति देउवालाई थप बल पुर्याएर आगामी दिनमा अझै शक्तिशाली र बलियो पार्टी बनाउन सबै नेताहरु एकजुट हुनुपर्नेमा जोड दिए । ‘पार्टीलाई एक ढिक्का बनाएर चलाउनको लागि र यसलाई आत्मबल प्रदान गर्न खासगरी उभार्नको लागि सबै मिलेर जानुपर्छ, पार्टी सभापतिलाई सहयोग पुरयाउनुपर्छ’–उनले थपे।

कांग्रेस मास बेस पार्टी भएकोले अब यसलाई कार्यकर्ता आधारित बनाउनतिर लाग्नुपर्नेमा समेत खाँणले स्पष्ट पारे । उनले भने,‘भातृसंस्थालाई अब कार्यकर्ताबेस बनाउनुपर्छ, सिँगो पार्टीलाई पनि कार्यकर्ताबेस बनाउनुपर्छ।’ पार्टीलाई प्रिसिडेन्सियल स्ट्रक्चर अनुसार फर्ममा राख्नको लागि रिफर्म गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको उनको भनाई थियो ।

उनले इतिहासमा मुलुकलाई अप्ठेरो पर्दा काँग्रेस हारेर पनि प्रजातन्त्र र लोकतन्त्रको विकासमा पु¥याएको योगदानलाई जनताले भुल्न नहुने बताए ।

नेपाली काँग्रेस निर्वाचन परिचालन समितिका संयोजक नेता खाँणले पार्टी कार्यकर्तामा आधारित नभई सामूहिक नेतृत्वमा चलेको, अध्यक्षात्मक प्रणालीभन्दा बाहिर गएकोलगायतका कारण निर्वाचनमा पछि परेको जानकारी दिए ।

नेता खाँणले नेपाली काँग्रेसका सभापतिले नेतृत्व हस्तान्तरण गर्ने, संसदीय दलको नेता कस्लाई बनाउने र विशेष अधिवेशनको बैठक बोलाउने वा नबोलाउने भन्ने अधिकार पार्टी सभापतिमा रहेको स्पष्ट पारे ।

 

उनले निर्वाचनमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै आम मतदाता, नेपाल सरकार, प्रधानमन्त्री देउवा, निर्वाचन आयोगका पदाधिकारीहरु, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय सबैलाई विशेष धन्यवाद समेत दिए ।

असहजताका बावजुदपनि चुनाव सम्पन्न भएको उल्लेख गर्दै खाँणले भने,‘हाम्रो पार्टीको नेतृत्वमा रहेको सरकारले समयमै निर्वाचन सम्पन्न गर्यो, कांग्रेसले अस्वभाविक परिणाम भोगेको छ, हामीले महामानव वीपीले देखेको सपना झण्डै ७० वर्षपछि संविधान सभाबाट संविधान जारी गर्यौं, कांग्रेसले सबै दलसँग समन्वयकारी भूमिका निर्वाह गरेर नै यो संभव भएको थियो, अहिले हामी संविधान कार्यान्वयनको चरणमा छौं।’

मुलकुमा शान्ति, समृद्धि र स्थायित्वको लागि निर्वाचन महत्पूर्ण खुड्किलो भएकोले जनताले लोकतान्त्रिक शक्तिलाई विजयी गराउँछन् भन्नेमा ढुक्क रहेको भएपनि आफूहरुले गरेका कामहरु जनतासामू सही ढंगले सम्प्रेषण गर्न चुकेर निर्वाचनमा भनेजस्तो परिणाम ल्याउन नसकेको उनले बताए ।

उनले भने,‘हामीले गरेका कामहरु जनताकाबीच पुर्याउन कमिकमजोरी भयो, एमाले र माओवादी केन्द्रवीचको मत आदानप्रदानमा कुनै समस्या देखिएन, उनीहरुले चुनावी तालमेलमात्रै नभएर पार्टी एकताको घोषण समेत गरेकोले परिणाममा असर परेको हो।’ पार्टीले प्रत्यक्षतर्फ राम्रो नतिजा ल्याउन नसकेपनि समानुपातिकतर्फ भने मत विगतको भन्दा बढेको उनले जनाए । खाँणले थपे,‘पहिले हाम्रो मत ३२.८ प्रतिशत थियो, अहिले बढेर ३४.४ प्रतिशत पुगेकोछ, माओवादीको १७ बाट घटेर १४.३ प्रतिशत छ, एमालेको ३३ बाट बढेर ३६ प्रतिशत छ।’ त्यस्तै उनले कतिपय जिल्ला र क्षेत्रमा आफ्नो पार्टी नै अगाडि रहेको पनि जनाए ।

खाँणले आफूहरुले जनादेशलाई सम्मान गर्ने बताउँदै भने,‘हामी अहिलेको जनादेशलाई सम्मान गर्छौं, जनाता जनार्दन हुन, पार्टीको तागद जनतामा निहित छ, हामी प्रतिपक्षमा रहन्छौं, जनताको हितमा काम गर्छौं।’ लोकतन्त्रको रक्षा र बहुलवादको रक्षाको लागि कांग्रेस जल्यिै पहरेदारको रुपमा रहने समेत उनले विश्वास दिलाए ।

उनले अब बन्ने वामपन्थीहरुको सरकारले राष्ट्रिय स्वाधिनतामा आघात पुर्याउने काम र संविधानलाई तोडमोड गरे आफूहरुले संघर्षशील भूमिका निर्वाह गर्ने समेत स्पष्ट पारे । उनले थपे,‘देशको हित र राष्ट्रियताको पक्षमा हामी काम गर्छौं, तर उहाँहरुले राम्रो काम गर्नुभयो भने रचनात्मक सहयोग पनि गर्छौं।’

कांग्रेस सत्तामा गएकोले चुनाव हारेको हो त भनेर सोधिएको एक प्रश्नमा उनले भने,‘सत्तामा जानु गलत होईन, तपाईहरुले त हामीलाई धन्यवाद दिनुपर्छ नि, हामीले सबै दलहरुलाई मिलाएर चुनाव गर्यौं, पार्टी हार्नु ठूलो कुरा होईन, देशले जितेको छ, व्यवस्थाले जितेको छ, होला हाम्रा व्यवस्थापकीय कमजोरीहरु भए होलान्, तर हामीले राम्रो काम गरेका छौं।’



प्रतिक्रिया दिनुहोस्