Logo

उपेन्द्र यादवलाई सरकारमा ल्याउने प्रचण्डको चाहनामा ओली बाधक



काठमाडौं, २६ मंसिर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनको सरकार बन्दैछ । चुनावी परिणाम हेर्दा जनताले वाम गठबन्धनको पक्षमा झण्डै दुई तिहाई नै मत दिएका छन् ।

चुनावी परिणाम करिब करिब सार्वजनिक भैसकेको छ । पहिलो दल नेकपा एमाले बनेको छ । समानुपातिकतर्फ समेत एमाले नै अगाडि देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने पक्का पक्की भएको छ।

वाम गठबन्धनका अर्का नेता पुष्पकमल दाहाल प्रचण्ड सम्भवतः दुई पार्टीवीचको एकतापछि बन्ने पार्टीको नेतृत्वमा रहने बुझिएको छ । ओली प्रधानमन्त्री हुँदा प्रचण्ड अध्यक्ष बन्ने निर्वाचन अघि नै सहमति भएको थियो । अहिले वाम गठबन्धनले सरकार बनाउनको लागि आन्तरिक गृहकार्य सुरु गरिसकेको छ ।

सुरुवाती गृहकार्यको अभ्यासमा प्रचण्डले संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउनेबारे छलफल समेत अघि बढाएका छन् । स्रोतका अनुसार आजमात्रै पनि प्रचण्डले यादवसँग टेलिफोनमा उक्त विषयमा लामै वार्ता गरेका थिए । यादव पनि प्रचण्डको प्रस्तावमा सकारात्मक नै देखिएको बुझिएको छ ।

तर, यता एमाले भने अहिले नै यादवलाई सरकारमा ल्याउन नहुने पक्षमा उभिएको छ । एमाले सचिव समेत रहेका निर्वाचित सांसद प्रदिप ज्ञवालीले पत्रकार ऋषि धमलासँग कुरा गर्दै भने,‘हाम्रो गठबन्धनसँग नै बहुमत छ नि, अहिले धेरै पार्टीलाई सरकारमा सहभागी गराउनुहुँदैन भन्ने जनताको म्याण्डेट छ, त्यसैले हामीले अरु दललाई पनि सहभागी गराउनेबारे केही सोचेका छैनौं।’

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने २ नम्बर प्रदेशमा फोरमको नेतृत्वमा सरकार बन्ने भएकोले उनलाई जसरी पनि केन्द्रिय सरकारमा ल्याउनुपर्ने बताउँदै आएका छन् । उनको जोड पनि उपेन्द्र यादवलाई जसरी पनि ल्याउनमै केन्द्रित रहेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्