Logo

समानुपातिकमा बन्द सुचिका नामहरुलाई तलमाथि गर्न पाईँदैन् : प्रमुख निर्वाचन आयुक्त यादव



‘२ दिनभित्र सबै परिणाम सार्वजनिक हुन्छ’
काठमाडौं, २७ मंसिर । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दलहरुले समानुपातिक तर्फको बन्द सुचिमा राखेका उम्मेद्धवारका नामहरुलाई नै क्रमशः अनुसार नै राख्नुपर्ने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा प्रमुख आयुक्त यादवले भने,‘दलहरुले आयोगमा बुझाएको बन्द सुचि अनुसार नै क्रमशः पहिलो, दोस्रो र तेस्रोको क्रममा रहेका नामहरुलाई प्राथमिकता दिनुपर्छ, सबैको प्रतिनिधित्व सुनिश्चित गर्नको लागि पनि दलहरुले यसलाई अनिवार्य रुपमा फलो गर्नुपर्छ।’ उनले समानुपातिकमा बन्द सुचिका नामहरुलाई तलमाथि गर्न नपाईने स्पष्ट पारेका छन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले समानुपातिकको नतिजा आएपछि कुन दलको कति सिट आउँछ त्यही अनुसार प्रतिशतमा छुट्याउने बताए । उनले भने,‘महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउनुपर्छ, यो अनिवार्य शर्त हो।’

यादवले प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भैसकेको र अब दुई दिनभित्रै समानुपातिकतर्फको पनि सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने विश्वास दिलाए । उनले थपे,‘आयोगले भनेकै समयमा मतपरिणाम सार्वजनिक भएको छ, हामीले एक हप्ताभित्रै सबै मतपरिणाम आउँछ भनेर भनेका थियौं, सोही अनुसार प्रत्यक्षतर्फको आईसकेको छ, अब समानुपातिक लगायत सबै परिणाम दुई दिनभित्रै आउँछ, हामी ढुक्क छौं।’

निर्वाचन सफल रुपमा सम्पन्न गरेको भनेर अहिले विभिन्न निकाय, संघसंस्थाहरुले आफूहरुलाई बधाई तथा धन्यवाद दिईरहेको उल्लेख गर्दै यादवले थपे,‘निर्वाचन आयोगले यो निर्वाचन सम्पन्न गर्न खेलेको भूमिका र व्यवस्थापनको मुल्यांकन गर्ने जिम्मा तपाई सञ्चारकर्मीहरुको पनि हो, हामीले गरेको कामको अहिले चौतर्फी प्रशंसाहरु भैरहेका छन्, हामी ज्यादै खुशी छौं, उत्साहित छौं।’

स्थानीय तहको निर्वाचनदेखि हालै सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई सफल रुपमा सम्पन्न गराउनको लागि ज्यादै अनुकुलात्मक वातावरण सिर्जना गर्न मिडियाले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै उनले धन्यवाद एवम् बधाई समेत दिए ।

त्यस्तै नागरिक समाज, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यवेक्षक सघं/संस्थाहरु, राजनीतिक दल, उम्मेद्धवार, दलका भातृसंगठन, सुरक्षा निकाय, नेपाल सरकार र आम मतदाताहरुको उल्लेखनीय र उल्लासमय सहभागिताका कारण निर्वाचन सफल रुपमा सम्पन्न भएको भन्दै उनले सबैमा धन्यवाद समेत प्रदान गरे । यादवले थपे,‘जनता बधाईका प्रमुख पात्र हुन्, मतदाताहरुप्रति म शीर निहुर्याउन चाहन्छु।’

उनले निर्वाचनमार्फत आम नेपाली जनताले लोकतन्त्र, संघीयता र संविधान कार्यान्वयनमा देखाएको चासोप्रति पनि आभार व्यक्त गरे। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सुरक्षा चुनौतीबीच पनि आम मतदातालाई सुरक्षाको पूर्ण प्रत्याभूति गराएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने नेपाल सरकारको भूमिका गर्व गर्न लायक रहेको बताएका हुन्।

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो भने दोस्रो चरणको निर्वाचनमा ६८ दशमलव २ प्रतिशत मत खसेको थियो। प्रमुख निर्वाचन आयुक्त यादवले दुवै चरणको निर्वाचनमा आम मतदाताको उल्लेख्य सहभागिता रहेको दाबी समेत गरे।

त्यस्तै उनले सबैभन्दा धेरै बदर मत ५.१८ प्रतिशत भएको पनि जनाए । समानुपातिकतर्फको नतिजा ७ वटै प्रदेशको छुट्टाछुट्टै नतिजा तयार पार्ने र परिणाम सूचिलाई प्रदेश प्रमुखलाई बुझाउने समेत जनाए । त्यस्तै उनले सबैभन्दा कम बदर हिमाली जिल्लामा भएको र बढि २ नम्बर प्रदेशका दक्षिण बेल्टतिर भएको समेत जानकारी दिए । काठमाडौंमा ४ प्रतिशतभन्दा बढि बदर मत नभएको समेत उनको भनाई थियो ।

यादवले हिमाली जिल्लाको तुलनामा मध्य तराई– मधेसका जिल्लामा बदर मत प्रतिशत निकै बढी रहेको पाइएको जानकारी दिए । उनका अनुसार, सबैभन्दा कम मनाङमा शुन्य दशमलव ३७ प्रतिशत मत बदर भएको छ भने सबैभन्दा बढी २ नं प्रदेशका जिल्लामा झण्डै नौ प्रतिशतसम्म मत बदर भएको छ ।

काठमाडौं उपत्यकाका जिल्लामा तीन दशमलव ८१ प्रतिशत भन्दा कम नै मत बदर भएको तथ्यांक रहेको उहाँले बताउनुभयो । निर्वाचन आयोगले ५ प्रतिशतभन्दा कम नै मत बदर हुने अपेक्षा गरेको थियो ।

संविधानसभाको ६४ सालको निर्वाचनमा पाँच दशमलव १५ प्रतिशत मत बदर भएको थियो भने २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा चार दशमलव ९४ प्रतिशत मत बदर भएको हो ।

संविधानले नै सुनिश्चित गरेको महिला र जातजातिको प्रतिनिधित्वको विषयमा समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएको बन्दसूचीमा समावेश गरिएका नाम प्राथमिकताका आधारमा राजनीतिक दलले पठाउनुपर्ने पक्षलाई आयोगबाट गहन ढंगले हेरिने उनले बताए ।

कानुनमा उम्मेद्धवारी दिँदा वारेश नामाबाट दिन पाउने व्यवस्था भएको उल्लेख गर्दै कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फका विजयी उम्मेद्धवार रेशम चौधरीको प्रमाणपत्र आयोगले संसद सचिवालयमा बुझाउने समेत यादवले बताए । उनले भने,‘निर्वाचन अधिकृतले पनि यस्तो व्यक्तिलाई कसरी प्रमाणपत्र बुझाउने भनेर हामीसँग सोध्नुभयो, हुन त अधिकार उहाँलाई नै छ, तर प्रमाणपत्र कसरी दिने भन्ने कानून र विकल्प छैन, जे भएपनि उहाँको प्रमाणपत्र सुरक्षित छ, उहाँ विजेता हो।’



प्रतिक्रिया दिनुहोस्