Logo

कांग्रेस युवा नेताहरुको गोप्य बैठकमा गगनले भने,‘देउवासँग वारपारको लडाई लड्न तयार छु, तपाईहरुले खुट्टा नकमाउनुहोस्’



काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका युवा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाकै कारण हालै सम्पन्न भएको निर्वाचनमा पराजय भोग्नु परेको निश्कर्ष निकाल्दै सभापति देउवासँग वारपारको लडाई लड्ने निर्णय गरेका छन् ।

बुधबार काठमाडौंको पूरानो बानेश्वरस्थित् सिद्धार्थ क्याफेमा बसेको युवा नेताहरुको विशेष भेलामा युवा नेता गगन थापाले पार्टी सभापतिबाट देउवालाई हटाउने जिम्मा लिएको स्रोतको दाबी छ । भेलामा गगन थापाका अलावा युवा नेताहरु क्रमशः चन्द्र भण्डारी, धनराज गुरुङ, उमेशजंग रायमाझी, महादेव गुरुङ्, बद्रि पाण्डे, प्रदिप पौडेल, गुरु घिमिरे, गोविन्द भट्टराई, रामहरि खतिवडा, जीवन परियार लगायतका नेताहरुको उपस्थिति थियो ।

युवा नेताहरुलाई साँक्षी राखेर गगनले यस पटक नेतृत्व परिवर्तन गराउन आफूले जिम्मा लिने वचन दिएको स्रोतको दाबी छ । ‘विशेष महाधिवेशन बोलाएर भएपनि देउवा हटाउनेबारे छलफल भएको छ’ स्रोतले गगनको भनाई उद्धृत गर्दै भन्यो, ‘तपाईहरुले मलाई साथ दिनुहोस्, खुट्टा नकमाउनुहोस्, म नेतृत्वलाई हटाएर देखाउँछु।’

पार्टी सभापतिकै अदुरदर्शीताको कारण चुनावमा कांग्रेसले हार व्यहारेको भन्दै पार्टीलाई पूनः सशक्त बनाएर लैजानेबारे आजको युवा नेताहरुको गोप्य बैठकमा छलफल तथा विचार विमर्श भएको एक नेताले जानकारी दिए ।

चुनावी परिणामको समीक्षा गर्न कांग्रेसले देशैभर नेता-कार्यकर्ता भेला गर्ने

उता देउवा पक्षधर युवाहरुले पनि छुट्टै भेला बसेको छ । निर्वाचनमा पार्टीको पक्षमा आएको परिणामबारे समीक्षा गर्न सातै प्रदेशमा रणनीतिक भेला गर्ने भएको छ ।पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाको आज बानेश्वरमा बसेको बैठकले पार्टीको पक्षमा सोचेजस्तो मत परिणाम नआएको भन्दै यसका बारेमा पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने बताएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पार्टी पराजयबारे वडा समितिबाटै बहस चलाउनु आवश्यक रहेको बताएका हुन्। ‘पार्टीको पराजयबारे वडा इकाई समितिदेखि केन्द्रीय तहका नेतासम्मले आत्मालोचना गर्नुपर्छ’ उनले भने।

बैठकले काँग्रेस नेतृत्वको वर्तमान सरकारले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण आधारका रुपमा लिइएको निर्वाचन सम्पन्न गराएको भन्दै सरकारलाई धन्यवाद व्यक्त गरेको छ। बैठकले सरकारले राष्ट्रपतिसमक्ष बुझाएको अध्यादेश यथाशीघ्र प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रहसमेत गरेको छ। बैठकमा नेपाली काँग्रेसका विभिन्न भ्रातृ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता रहेको थियो।



प्रतिक्रिया दिनुहोस्