Logo

राष्ट्रपतिले कार्यकारी झै बन्न खोज्नु अन्योल सिर्जना गर्नु हो : निधि



जनकपुरधाम, ५ पुस (रासस) : नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रपतिलाई अध्यादेश रोक्ने संवैधानिक प्रावधान नरहेको बताउनुभएको छ ।

रामानन्द युवा क्लबद्वारा आज जनकपुरधाममा आयोजित पुरस्कार वितरण कार्यक्रममा उहाँले संविधानले कार्यकारी राष्ट्रपतिको व्यवस्था नगरेको अवस्थामा राष्ट्रपतिले कार्यकारी झै बन्न खोज्नु राष्ट्रमा अन्योल सिर्जना गर्नु हो भन्नुभयो ।

सरकारले आमनिर्वाचन पूर्व नै अध्यादेशमार्फत एकल सङ्क्रमणीय पद्धतिका आधारमा राष्ट्रियसभाको निर्वाचन गराउनुपर्छ भनी राष्ट्रपतिसमक्ष विधेयक पेस गरेको अवस्थामा राष्ट्रपतिको भूमिका संवैधानिक प्रावधान अनुरूप नहुनु चिन्ताको विषय भएको उहाँले बताउनुभयो ।

पूर्वउपप्रधानमन्त्री निधिले सत्ता हस्तान्तरणको बाधक प्रधानमन्त्री नभई संवैधानिक प्रक्रिया हो भन्दै यस यथार्थभन्दा विपरित नेकपा (एमाले)का नेताले भ्रम सिर्जना गरिहेकामा आपत्ति जनाउनुभयो ।उहाँले मधेशको अस्तित्व लुम्बिनी र मिथिला भएकाले लुम्बिनी र मिथिलाको संस्कृति, भाषा र पहिचानलाई खण्डित गर्ने कार्य कुनै पक्षबाट गर्न नहुने धारणा राख्नुभयो ।

उहाँले प्रदेश नं २ को राजधानी जनकपुरधाम घोषणा गर्नुपर्छ भन्नुभयो । धनुषा क्षेत्र नं ३ बाट नवनिर्वाचित प्रदेशसभा सदस्य रामसरोज यादवले मिथिलाको संस्कृति, भाषा र परम्परा अतुलनीय भएकाले २ नं प्रदेशको नाम ‘मिथिला प्रदेश’ हुनुपर्छ भन्नुभयो ।

साहित्यकार डा राजेन्द्र विमलले मिथिलाको संस्कृति गौरवमय भएकाले यसबारे विवाद सिर्जना नगरी यस प्रदेशको नाम मिथिला प्रदेश हुनुपर्ने धारणा राख्नुभयो ।

सो अवसरमा नेता निधिले कथाकार सुजितकुमार झालाई ‘विद्यापति स्मृति पदक’, नाट्यकर्मी सुनिल मिश्रलाई ‘सरस्वती राजनारायण पुरस्कार’ र समाजसेवी पवन सिंघानियाँलाई ‘मिथिला भूषण पुरस्कार’बाट सम्मान गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्