दाङ, ५ पुस (रासस) : उपप्रधान एवं बिना विभागीयमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय सभा गठन भएपछि एक हप्ताभित्र नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताउनुभएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघले आज आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले नेकपा (एमाले), माओवादी केन्द्रबीच पार्टी एकीकरणको काम पनि सँगसँगै अगाडि बढेको छ भन्नुभयो ।
राजनीतिक दलहरुबीच सहमतिको बिकल्प नभएको बताउँदै उपप्रधानमन्त्री महराले भन्नुभयो “राजनीतिक दलहरुबीचको एकता र सहकार्यले मात्र देशमा आर्थिक समृद्धि र विकासले गति लिन्छ, अब विकासलाई कसैले पनि रोक्न सक्दैन ।”
प्रदेश नं ५ को राजधानी दाङ हुने विश्वास दिलाउँदै उहाँले भन्नुभयो, “अहिले बुटवलमा राजधानी भन्ने हल्ला आएको छ यो मात्र हल्ला हो म हल्लाको पछाडि नलाग्न सबैलाई अनुरोध गर्दछु ।” उहाँले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालगायत सबै राजनीतिज्ञलाई भेटेको र अहिलेको सरकारले अस्थायी केन्द्र तोक्ने र पछि प्रदेशसभाको बहुमतले राजधानीको निर्णय लिने बताउनुभयो ।




प्रतिक्रिया